Kath khabar
ग्रिसमा डुङ्गा पल्टिँदा ७८ जनाको मृत्यु, १ सय ४ जनाको उद्धार

 

                 ग्रिस, जेठ ३२ ।  ग्रिसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ । हिजो भएको दुर्घटना लगत्तै ग्रिस कोस्ट गार्डले उद्धार अभियान चलाएर १ सय ४ जना आप्रवासीलाई उद्धार गरेको छ ।

उद्धार गरिएकालाई कालामाटा सहर लगिएको छ । उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेका कालामाटाका मेयरलाई उद्धृत गरी समाचार संस्था एपीएफले जनाएको छ । तर दुर्घटना हुँदा डुङ्गामा कति जना थिए अहिलेसम्म खुल्न सकेको छैन ।

जीवितै उद्धार गरिएकाले दिएको विवरण अनुसार डुङ्गामा झण्डै ७ सय ५० जना थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले ठूलो सङ्ख्यामा मानिसहरु हराइरहेको जनाएको छ । आज पनि उद्धारको काम भैरहेको छ ।

डुङ्गामा रहेका कसैले पनि लाइफ ज्याकेट नलगाएको र आफ्नो राष्ट्रियता तत्काल नखुलाएको खबरमा उल्लेख छ । ती आप्रवासीहरू लिबियाबाट इटालीतर्फ जाँदै थिए । अस्ति नाइजेरियामा डुङ्गा पल्टिँदा १ सय जनाभन्दा धेरैको ज्यान गएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update