Kath khabar
मौलिक नाम खोज्दै मध्यपुर थिमि



                  भक्तपुर, असार ५ । मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले अमूर्त सम्पदाको रुपमा रहेको मौलिक नाम खोजेर प्रतिष्ठापन गर्नुपर्नेमा जोड दिएका छन् । नगरपालिकाले सम्पन्न गरेको मौलिक स्थान–नाम संकलन तथा अभिलेखीकरण प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रममा मेयर श्रेष्ठले मन्दिर, मठ, चैत्य, पोखरी जस्तै अमूर्त सम्पदा पनि उतिकै महत्वपूर्ण रहेकोले संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘ई. राजेन्द्र दाइसँग एउटा पार्टी भोजमा भेट हुँदा थिमीको अध्ययन र अनुसन्धान गरेको मालेकुलेको विषयमा छलफल भयो । स्थानीय स्तरमा रहेका सम्पदा, संस्कृति तथा जीवनशैलीको विषयमा अध्ययन गरिरहेको मालेकुले अभियानबाट प्रेरित भएर अहिले कार्यविधि नै बनाएर मौलिक नाम खोज्ने काम भइरहेको छ ।’ मेयर श्रेष्ठले बताए । उहाँले पुराना नाम खोज्ने काम सकेर त्यसलाई जिआईएस सिस्टममा लाने विषयमा समेत प्रष्ट पारे ।

हुनपनि बाजेपूर्खाले सन्ततिमा हस्तान्तरण गरेको सम्पदालाई संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । सम्पदालाई पर्यटनसँग जोड्नसके त्यसले स्वरोजगारी सिर्जना गर्नेदेखि वित्तीय अवस्था चलायमान गराउने क्षेत्रमा भूमिका खेल्छ । कार्यक्रममा समितिका संयोजक राजेन्द्र श्रेष्ठले प्रतिवेदन प्रस्तुति गर्दै मौलिक नाम खोज्ने सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोगहरूको विषयमा जानकारी दिए । संयोजक श्रेष्ठले नौ महिनाको अवधिमा समितिले गरेको उपलब्धिको विषयमा समेत प्रष्ट पारे ।

कार्यक्रममा फर्मल मेयर मदनकृष्ण श्रेष्ठ, डेपुटी मेयर विजयकृष्ण श्रेष्ठ, ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति, युवा राजनीतिज्ञ भुवन बागः श्रेष्ठ लगायतले नगरभित्र पुराना नाम खोजेर प्रतिष्ठान गर्नुपर्ने आवश्यकता विषयमा चर्चा गरेका थिए । समितिका सदस्य सचिव तुलसी भक्त तःकोले सञ्चालन गरेको कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका सबै वडाध्यक्ष, निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समितिका पदाधिकारी तथा समाजसेवीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update