Kath khabar
१७ वर्षीय अश्वेत मूलका किशोर प्रहरीको गोलीले मारिए पछि फ्रान्स अशान्त 

 

                   पेरिस, असार १४ ।  युरोपेली मुलुक फ्रान्स २ दिनदेखि अशान्त बनेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार प्रहरीको गोली लागेर एक जना १७ वर्षीय किशोरको मृत्यु भएपछि फ्रान्स भरी हिंसा भड्किएको छ।

अश्वेत मूलका नाहेल एम नामका ती किशोर माथि पश्चिम पेरिसको नान्तेरेमा ट्राफिक स्टपमा प्रहरीले गोली हानेको थियो।अहिलेसम्म १८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने १७० प्रहरी घाइते भएका छन्।

अफ्रिकी मूलका भएकै कारण प्रहरीले उनीमाथि पूर्वाग्रह राखेको र कुनै खतरा नहुँदा पनि गोली चलाएको भन्दै विरोध गर्दै प्रदर्शन भएका हुन्। ठाउँ ठाउँमा प्रदर्शनकारीले प्रहरीका गाडी र पुलिस स्टेशन जलाएका छन्। सरकारी भवन र निजी गाडीमा क्षति पुर्‍याएका छन्।

बिहीबार राति थप हिंसा भड्किन सक्ने ठानेर फ्रान्सभरि ४० हजार प्रहरी परिचालन गर्न लागिएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। बुधबार राति ९ हजार प्रहरी परिचालन गरिएकोमा हिंसा भड्किन नदिन बिहीबार चार गुणा बढी प्रहरी परिचालन गर्न लागिएको हो।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले किशोर माथि गोली हान्ने प्रहरीको कदम अक्षम्य भएको बताएका छन्। किशोरलाई गोली हान्ने प्रहरी अधिकारीलाई हिरासतमा राखिएको छ। उनलाई र उनीसँगै रहेका अर्का प्रहरी अधिकारी माथि हत्या अभियोगमा मुद्दा चलाइएको छ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update