Kath khabar
२३ असारबाट ११ औं नेपाल अफ्रिका फिल्म फेस्टिभल :  १२ देशका २२ फिल्म देखाइदै


              काठमाडौं, असार २० । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजना र चलचित्र विकास बोर्ड एवम् विलक्षण क्रियसनको सह आयोजनामा यही २३ देखि २५ असारसम्म काठमाडौंको जमलस्थित नाचघरमा ‘११ औं नेपाल अफ्रिका फिल्म फेस्टिभल –२०२३’ हुने भएको छ । यो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्न १२ वर्ष अघिबाट यो महोत्सव निरन्तर आयोजना गर्दै आएका छौं । महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ ।’ महोत्सव अध्यक्ष एवम् कलेजकी प्रिन्सिपल डा. मञ्जु मिश्रले भनेकी छिन् ।

यसपटक महोत्सवमा ११ वटा मुलुकका १० वटा अफ्रिकन चलचित्र तथा वृत्तचित्र चयन भएका छन् । यस्तै नेपालबाट १२ वटा चलचित्र तथा वृत्तचित्र चयन भएको छन् । महोत्सव अफ्रिकन बस्तुका प्रदर्शन तथा अन्य विभिन्न कार्यक्रम रहेको पनि महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले बताएकी छिन् ।

महोत्सवमा अफ्रिकाबाट चयन भएका १० चलचित्र मध्य जिम्मावेको वृत्तचित्र 'कलिङ द डेड', युगान्डाको वृत्तचित्र 'समबडी क्लाप फर मी' र केन्याको वृत्तचित्र 'थ्याङ्क्यु फर द रेन' रहेका छ । फेस्टिभलमा फिचर फिल्म तर्फ मोजाम्बियाको फिचर फिल्म ट्रेन अफ द साल्ट एन्ड सुगर छानिएको छ ।

यस्तै सर्ट फिल्मतर्फ रुवान्डा र स्विट्जरल्यान्डको सर्ट फिल्म आई गट आई थिङ एन्ड लेफ्ट, इजिप्टको सर्ट फिल्म द बिल्डर, साउथ अफ्रिकाको सर्ट फिल्म ह्याङ म्यान, फ्रान्सको सर्ट फिल्म शान्ता क्लज डार्क साइड, घानाको सर्ट फिल्म या, केन्या र जर्मनको सर्ट फिल्म वाटु वाटो रहेका छन् । यसरी ११ मुलुकका १० अफ्रिकन चलचित्र र नेपालको १२ चलचित्र गरी १२ मुलुकका २२ वटा चलचित्र यो महोत्सवमा प्रदर्शन हुनेछ ।

फेस्टिभल निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सवमा नेपालबाट चारवटा फिचर फिल्म, दुई वटा वृत्तचित्र, तीन वटा सर्ट फिल्म र तीन वटा स्टुडेन्ट फिल्म चयन भएका छन् । जसमा फिचर फिल्म तर्फ दिनेश राउत निर्देशित प्रकाश, परिच्छेद सेन निर्देशित प्रेमगञ्ज, शम्भु थापा निर्देशित हुक्का र रोशन कुमार निर्देशित भाग्य रहेका छन् । वृत्तचित्र तर्फ रोशनी केसी निर्देशित समर्पण र भिमलाल श्रेष्ठ निर्देशित फेरी रहेको छ ।

यस्तै सर्ट फिल्ममा विलक्षण क्रियसन निर्मित परिवर्तन, सुमन दाहाल निर्देशित परिवार, प्रधुम्न मिश्र निर्देशित दुबिधा रहेका छन् । स्टुडेन्ट समुहको सर्ट फिल्म प्रतिस्पर्धामा सुन्दर योञ्जन निर्देशित ऐजेरु, सामल कुमार बज्राचार्य निर्देशित हावाम्यान र अम्बिका भण्डारी निर्देशित कलुवा रहेको छ ।

महोत्सव जमलस्थित सांस्कृतिक संस्थान (नाचघर)मा २३ देखि २५ असारसम्म तीन दिन चल्ने छ । २३ असार शनिबार ११ बजेबाट १२ः३० सम्म उद्घाटन समारोह रहेको यो महोत्सवमा सोही दिन १ बजेबाट तीन दिनसम्म यी २२ वटा फिल्म प्रदर्शन गरिने छ । २५ गते सोमबार ३ः३० बजेबाट महोत्सव समापन तथा अवार्ड समारोह आयोजना गरिने महोत्सव निर्देशक क्षत्रीले बताएका छन् ।  

महोत्सवमा आइतबार २४ असारमा नाचघरमै एक दिवसीय अभिनय कार्यशाला हुँदैछ । यो कार्यशालामा कलाकार बिरेन्द्र हमालले ‘बडी ल्यांग्वेज, फेसियल एक्सप्रेसन र माईम एक्ट’को प्रशिक्षण दिनेछन् ।

यस्तै फेस्टिभल को अर्डिनेटर तथा प्रोजेक्ट म्यानेजर चिरञ्जीवी गुरागाइँको संयोजकत्वमा महोत्सवमा आईतबार २४ असार १२ः३० बाट २ बजेसम्म ‘नेपाली सर्ट फिल्मको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार’ विषयमा अन्तरक्रिया हुनेछ ।

 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update