Kath khabar
आजदेखि साझा यातायातले रत्नपार्क-लेले रुटमा सेवा विस्तार गर्दै 

 

                   ललितपुर, असार २१ । आजदेखि काठमाडौंको रत्नपार्क हुँदै ललितपुरको लेलेसम्म साझा बस चल्ने भएको छ । साझा यातायातले सेवा विस्तार गर्दै आजदेखि रत्नपार्क-लेले रुटमा गाडी चलाउन थालेको हो ।

अहिले डिजेलबाट चल्ने ४ वटा गाडीलाई यो रुटमा हालेको साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यो रुटमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म साझाका गाडी चल्ने छन् ।

साझाका गाडी रत्नपार्क, पुरानो बसपार्क, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, चापागाउँ, थेचो, सुनाकोठी हुँदै लेले पुग्ने छन् । लेलेबाट छुट्ने गाडी पनि यही रुट अनुसार चल्ने छन् । ललितपुरको गोदावरीमा चार्जिङ स्टेशन बनेपछि यो रुटमा विद्युतीय गाडी चलाउने तयारी भएको महाप्रबन्धक पाण्डेले बताउनुभयो ।

साझाले खरिद गरेको ४० वटा विद्युतीय बसमध्ये अहिलेसम्म १८ वटा सञ्चालनमा छन् । बाँकी बस सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । अपाङ्गता भएकाहरु चढ्न मिल्ने र्‍याम्प सहितको सुविधा भएको  विद्युतीय बस खरिद गर्न २०७८ साल चैत १३ गते साझाले ग्लोबल टेन्डर आह्वान गरेको थियो ।

यसैबीच, साझाले काठमाडौं उपत्यकामा शुरु गरेको सम्पदा घुम्ती बस सेवामा यात्रु आकर्षित हुन सकेका छैनन् । पर्यटन क्षेत्रलाई लक्षित गरी गएको जेठ ९ गतेदेखि साझाले सम्पदा घुम्ती बस सेवा सञ्चालनमा ल्याएको हो । तर, सम्पदा घुम्ती बसलाई यात्रु पाउन मुस्किल छ ।

यो बस मार्फत् स्वदेशी तथा विदेशी पर्यटकले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार सङ्ग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूको भ्रमण गर्न पाउँछन् । त्यसका  लागि दिनको ५ सय रुपैयाँका दरले बसको टिकट तोकिएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update