Kath khabar
'म थोरै भावनामा आएँ, प्रधानमन्त्रीको रूपमा त्यो भाषा बोल्न हुन्नथ्यो' : प्रधानमन्त्री दाहाल

 

                 काठमाडौं, असार २६ । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्ति प्रति आत्मसमीक्षा गरेका छन्। उनले भावुकतामा आएर उक्त अभिव्यक्ति दिएको बताएका छन्।

प्रधानमन्त्री दाहालले असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन सघाएको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएको थियो। जसले गर्दा संसद् अवरुद्ध भइरहेको थियो।

त्यसबारे स्पष्टीकरण दिंदै आफ्नी छोरी ज्ञानुको क्यान्सरको उपचारका क्रममा प्रितम सिंहको घरमा बसेकाले पारिवारिक सम्बन्ध बनेको बताए। “त्यति वेला प्रितमले तपाईं प्रधानमन्त्री हुनुपर्छ। तपाईं प्रधानमन्त्री हुनुपर्ने मान्छे हो भनेर भारत र नेपालमा कुराकानी गर्दै आएको छु भनेका थिए,” दाहालले प्रतिनिधि सभामा भने, “त्यति वेला धन्यवाद भनेको थिएँ। किताब विमोचनमा त्यही स्मरणमा आयो। बिरामी छोरीको उपचारमा सघाएको सम्झेर भावुक भएँ, प्रितमको त्यही भनाइ सुनाएको थिएँ।”

त्यही पुरानो स्मरणले प्रितमको किताब विमोचनमा भावुक भएको उनको भनाइ थियो। “प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो, तर म ज्ञानुको बुबा भएर बोलें, प्रितमको सदाशयता सम्झेर बोलें,” दाहालले भने, “प्रितमसँग प्रधानमन्त्री बनाउने सामर्थ्य पनि छैन। उनीसँग नेता वा प्रधानमन्त्रीको सम्बन्ध पनि छैन। कृतज्ञ बाबुको सम्बन्ध मात्र हो।”

आफ्नो अभिव्यक्तिलाई लिएर संसद्‌मा भएको बहसले सचेत बनाएको उनको भनाइ थियो। “आत्मसमीक्षा गर्न चाहन्छु। यहाँ उठेको बहसले भविष्यमा सतर्क हुन सहयोग पुग्नेछ,” दाहालले भने। भावुक हुने बानीले आफूलाई पटक पटक अप्ठ्यारोमा पार्दै आएको उनले स्मरण गरे। “अबदेखि त बदल्छु भन्यो, बोल्न जाँदा आइहाल्छ। यो ६८ वर्षको उमेरमा बानी बदल्न फलामको च्यूरा हुँदो रहेछ,” दाहालले भने।

आफूलाई बोल्ने मौका समेत नदिएर संसद् अवरुद्ध गरेकोमा र राजीनामा मागेकोमा भने उनले असन्तुष्टि पोखे। उनले भने, “स्पष्टीकरणको मौका समेत नदिएर राजीनामा माग गरियो। मलाई संसद्‌मा आफ्ना कुरा राख्न दिइएन। यसमा गम्भीर ध्यानाकर्षण भएको छ।”

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update