Kath khabar
आज अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

 

                काठमाडौं, असार २९ ।  अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार लू को नेपाल भ्रमणबारे जानकारी गराएको हो ।

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । 

लु अहिले दक्षिण एसिया भ्रमणमा छन् । प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटवार्तामा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, २ मुलुक बीचको सम्बन्ध लगायत विषयमा कुराकानी गर्ने तयारी छ । 

दूतावासका अनुसार लुले अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थासँग भेटघाट गर्नेछन् । नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले सीप प्रदान गर्न उक्त संस्थाले गरेका प्रयासबारे लुले बुझ्ने दूतावासले जनाएको छ । यसअघि नेपाल सरकारले अमेरिकी कार्यक्रम एसपीपी (स्टेट पार्टनरसिप प्रोग्राम) लाई अघि नबढाउने निर्णय गरेपछि लुले नेपाल भ्रमण गरेका थिए । एमसीसी सम्झौता नेपालको संसद्बाट अनुमोदन हुनु ४ महिनाअघि पनि लु आएका थिए ।

सहायक विदेशमन्त्री लु दक्षिण तथा मध्यएसिया मामिलामा दख्खल राख्ने अमेरिकी कूटनीतिज्ञमा पर्छन् । उनी २०७८ भदौ ३० मा दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री नियुक्त भएका हुन् । त्यसअघि लु किर्गिस्तान र अल्बानियामा राजदूत भइसकेका हुन् । ३० वर्षभन्दा बढी अमेरिकी कूटनीतिक सेवामा काम गरिसकेका लुसँग नयाँदिल्लीस्थित अमेरिकी दूतावास र पाकिस्तानस्थित अमेरिकी दूतावासमा काम गरेको अनुभव पनि छ । उनी दिल्लीमा नियोग उपप्रमुख थिए । उनी मध्यएसिया तथा दक्षिण एसिया काकेसस मामिला कार्यालयका उपनिर्देशकसमेत भइसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update