Kath khabar
भुटानी शरणार्थी प्रकरणमा हिजो १५ लाख धरौटीमा छुटेका केशव तुलाधर ललिता निवास प्रकरणमा पुन: पक्राउ

 

                   काठमाडौं, साउन १ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा असार २८ गते पक्राउ परेर हिजो जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भएका केशव तुलाधर पुनः पक्राउ परेका छन् ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा काठमाडौं असनका तुलाधरको संलग्नता देखिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधर हिजो १५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए, ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता देखिएपछि हामीले पक्राउ गरेका छौँ।'

पक्राउ परेका तुलाधरलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमै राखिएको र सोमवार आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आवश्यक अनुसन्धानका लागि बुझाइने प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका भन्दै यही असार २८ गते उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update