Kath khabar
लुम्बिनीका पूर्वमन्त्री विजय यादव बैंकिङ्ग कसुरमा पक्राउ

 

               रूपन्देही, साउन १ ।  लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादवलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको डुडुवा गाउँपालिका १ होलियाबाट यादवलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

यादव विरूद्ध जिल्ला अदालत रूपन्देहीमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेको रूपन्देही प्रहरीको सोही पुर्जीका आधारमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

गएको माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशङ्कर यादवको नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाण्डौको चेक बाउन्स भएपछि एमालेका नेता समेत रहेका प्रदेशका पूर्वमन्त्री यादव विरुद्ध मुद्दा दायर भएको थियो ।

बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार पक्राउ परेका यादवलाई जिल्ला अदालत रूपन्देही मार्फत् जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा बुझाइएको छ। रूपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यादवलाई सोमबार कार्यालयमा बुझाइएको जानकारी दिए।

जसपाबाट निर्वाचित भएपछि यादव शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका थिए । पछि यादव एमाले प्रवेश गरेका थिए । २०७९ सालमा भएको प्रदेश सभाको चुनावमा बाँकेको क्षेत्र नम्बर २ 'क' बाट एमाले उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका यादव जसपाका भण्डारीलाल यादवसँग पराजित हुनुभएको थियो ।

यादवले २०७४ सालमा कांग्रेसले टिकट नदिएपछि जसपामा प्रवेश गरी उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update