Kath khabar
दक्षिण कोरियामा बाढीले ३९ जनाको मृत्यु 

 

              सोल, साउन १ ।  दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ । यसअघि हिजो बिहानसम्म २६ जनाको शव फेला परेकोमा त्यसपछि १३ जनाको शव भेटिएको छ ।

चुङचेओङ प्रान्तमा डुबानमा परेको सुरुङ मार्गमा फसेकाहरुको खोजीमा खटिएको उद्धार टोलीले १३ जना मानिसको शव फेला पारेका हुन् । बाढी नै सुरुङमा पसे पछि निजी गाडी र बसमा यात्रा गरिरहेका यात्रुहरु फसेका थिए । सुरुङ ६ सय ८५ मिटर लामो छ । त्यहाँ ९ जनाको जीवितै उद्धार गरिएको थियो ।

उत्तरी ग्योङसाङ प्रान्तमा ९ जना बेपत्ता छन् । उनीहरुको खोजी भैरहेको छ । वर्षाका कारण १४ वटा सहर र प्रान्तका ८ हजार ८ सय ५२ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । ग्योङसाङ प्रान्त र मध्य चुङचेओङ प्रान्त निक्कै प्रभावित रहेका केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य मुख्यालयले जनाएको छ ।

अत्यधिक वर्षाका कारण बाढी, पहिरोको मारमा परेको दक्षिण कोरियामा विद्युत् कटौती भएको छ । प्रधानमन्त्री हान डक-सूले सेनालाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । अत्यधिक वर्षाका कारण अहिले दक्षिण कोरिया सहित भारत, चीन र जापान बाढी र पहिरोबाट आक्रान्त भएका छन् ।

यसरी बाढी र पहिरो आउनुका अन्य धेरै कारणहरू भए पनि जलवायु परिवर्तन मुख्य कारण रहेको विज्ञले बताउँदै आएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update