Kath Khabar
अब एकै यूएसएसडी कोडबाट नेपाल टेलिकम र एनसेलको ब्यालेन्स चेक, रिचार्ज र ब्यालेन्स ट्रान्सफर गर्न सकिने 

 

               काठमाडौं, भदौ ५ । अब नेपाल टेलिकम र एनसेल आजियाटाले एउटै किसिमका यूएसएसडी कोड प्रयोगमा ल्याएका छन् ।

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम र निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले प्रत्येक सेवा प्रदायक अनुसार आ-आफ्नै छुट्टै कोड प्रयोग गर्दै आएकोमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

नयाँ कार्यविधि अनुसार अबको ६ महिनाभित्र सबै सेवा प्रदायकले एउटै कोड प्रयोग गर्नुपर्नेछ । यसको लागि ब्यालेन्स चेक गर्न १४४, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र रिचार्जका लागि १२२ सर्ट कोड प्रयोग गर्नुपर्नेछ । यद्यपि यो विधिबाट अझै केही समयसम्म ब्यालेन्स रिचार्ज गर्न सकिनेछ । 

आ-आफ्नो सिस्टममा उल्लेखित यूएसएसडी कोड प्रयोगमा ल्याएको भए पनि दुवै कम्पनीले त्यसको सार्वजनिक सूचना भने जारी गरेका छैनन् । कम्पनीहरूले आफ्ना पूर्ववतः यूएसएसडी कोड समेत समानान्तर रूपमा प्रयोग गरिरहेको पाइन्छ ।

कार्यविधि अनुसार यसअघि सेवा प्रदायकले आआफ्नै किसिमले प्रयोगमा ल्याएका यूएसएसडी कोड एक वर्षपछि बन्द गरी अब यी एकै किसिमका यूएसएसडी कोड मात्रै प्रयोगमा ल्याउनु पर्नेछ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update