Kath khabar
क्यानद्धारा ‘नेसनल आईसीटी स्कलरसिप- २०८०’ को लागि आवेदन खुल्ला



                     काठमाडौं, भदौ १० । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा विगत ३१ वर्षदेखि कार्य गर्दै आइरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ विगत चार बर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृतिको ‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ को लागी आवेदन खुल्ला गरेको छ ।

क्यान महासंघले, राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्दै आएको विदितै छ । यो छात्रवृति काठमाडौंको मैतिदेवीमा रहि विगत दुई दशकभन्दा बढि समय देखि सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज – लर्ड बुद्ध एजुकेसन फाउन्डेसन संगको सहकार्यमा शुरु गरिएको हो । यो छात्रवृति मार्फत यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी सात प्रदेशबाट १/१ जना छात्रा लाई पूर्ण छात्रवृति र बाँकी सम्पूर्ण प्रदेशबाट ४२ जनालाई आंशिक छात्रवृति प्रदान गरिने छ । ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पुराउनमा यस कार्यले टेवा पुर्याउँदै आएको छ । विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृति कार्यक्रम अन्तर्गत हालसम्म ११० जना विद्यार्थीहरू अध्ययनरत छन् ।  

यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रवृति प्रदान गरिनेछ ।

क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन कलेजबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् । छात्रवृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलजी एण्ड इनोभेसनको सम्बधनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि. एस. सी. आईटी (SCIT) को अध्ययन गर्न पाउनेछन् । नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमान अध्यक्ष नवराज कुँवरको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल, ठाकुर कुमार श्रेष्ठ, भुपालदास श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ तथा केन्द्रिय सदस्यद्वय राजु कट्टेल र सरिता न्यौपाने रहेको छात्रवृति छनौट समिति गठन गरेको छ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट मार्फत २०८० साल भदौ २० गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ ।

यस छात्रवृति मार्फत देशका दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरूले पनि सूचना तथा संचार प्रविधिको क्षेत्रलाई आफ्नो पेशाव्यवसाय बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने कुरा क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदारले व्यक्त गर्नुभयो । यो छात्रवृत्तिका निम्ति सूचना प्रविधि क्षेत्रको अग्रणी एवं छाता संस्था क्यान महासंघसंगको सहकार्यले देश भित्र रहेको डिजिटल–डिभाईड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा अन्य संस्थाहरुलाई पनि सार्वजनिक–निजि साझेदारीको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेसन फाउण्डेशनका अध्यक्ष ई. पंकज जालानले बताउनुभयो ।

आईसीटी स्कलरसिप नेपाल अधिराज्य रहेको सूचना र प्रविधिसँग आफ्नो क्यारियर बनाउने चाहने विशेषगरी दुर्गम क्षेत्रका युवाहरूलाई यो स्कलरसिप कोशेढुंगा हुनेछ भन्ने क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update