Kath khabar
देशैभर किन बढ्दै छ सवारी दुर्घटना ?

 

            काठमाडौं, भदौ १७ ।  आकस्मिक घट्ने सडक दुर्घटना कारण वर्षेनी हजारौ मानिसको निधन भैरहेको हुन्छ । सडकको कमजोर अवस्था, चालकको कमजोरी, पुराना सवारी साधन  लगायतका विविध कारणलार्ई दर्घटनाको प्रमुख दोषीको रुपमा लिइन्छ । यसका अलवा सवारी दुर्घटना हुनुका मुख्य कारण यस्ता छन् । 

तिव्र गति :

सडक विभागले गरेको अध्ययन अनुसार सवारी सधानको तिव्र गतिलाई दुर्घटनाको मुख्य कारण मानेको छ । सडक निर्माण गर्दा निश्चित मापदन्ड निर्धारण गरिएको हुन्छ । जबकि चालकले सो मापदन्ड तोडेर सवारी साधन चलाउँदा पनि दुर्घटना हुने गरेको छ । 

सवारी चालकको कारण :

नेपालमा अझै व्यवसायिक र गैरव्यवसायिक भनेर चालकलाई वर्गिकण गरिएको छैन । यस्तो निश्चित मापदन्ड नहुँदा व्यवसायिक रुपमा सवारी चलाउने काम नगर्नेले पनि सवारी चलाउँदा दुर्घटना हुन गरेका छन । किनकी, उसमा अनुभवको कमी हुने ट्राफिक इन्जिनियरहरु बताउँछन् । 

यसका साथै ट्राफिक संकेत बुझ्न सक्ने क्षमताको जाँच र शैक्षिक योग्यता अझै तोकिएको छैन । कतिपय यात्रु बाहक सवारी कम उमेरका व्यक्तिले चलाउने र चलाउनमा दक्षता नहुँदा दुर्घटना हुने गरेको छ । 

सडकको अवस्था :

नेपालमा कालो पत्रे, कच्ची तथा खन्डस्मिथ सडकको कुल लम्बाई ७० हजार ६ सय किलोमिटर छ । सो सडक मध्ये मात्रै २५ हजार किमी सडक सवारी साधन संचालन योग्य रहेको छ । 

देशभरको ११ हजार किलोमिटर सडक कालोपत्रे गरिएको छ । नेपालमा सडकको ट्रयाक खोल्ने बित्तिकै सवारी चलाउने गरिन्छ । प्राविधिक रुपमा अनफिट सडकमा सवारी दुर्घटनाको उच्च जोखिम हुने गर्छ । 

एकजना ट्राफिक इन्जिनियर आशिष गजुरेल भने दुर्घटनाको मुख्य कारण नेपालका खराब र राम्ररी डिजाइन नगरी बनाइएका सडक भएको बताउँछन्।

सवारी साधनको अवस्था :

२०५६ सालमा सरकारले उत्पादन मितिले २० वर्षभन्दा पुराना सवारीसाधन दर्ताको हेरफेर तथा नामसारी गर्न नपाउने व्यवस्था गरेको थियो । साथै, यस्ता सवारी साधन अनिर्वाय पत्रु गर्नुपर्ने हुन्छ । 

तर, यातयात व्यवसायीले तोकिएको अवधि नाघेका सवारी साधन भने पत्रु गर्ने कार्य गरेको छैन । साथै विभागको अनुगमनको कार्यलाई कडाईका साथ अगाडि बढाउन सकेको छैनन् । यस कारण पुराना सवारी साधनको ब्रेक तथा अन्य मेसिन बिग्रिदा वा काम नगर्दा पनि दुर्घटना हुने गरेको छ । 

रोड सेफ्टी आडिट र ब्ल्याक स्पट न्युन :

सुरक्षामा केन्द्रित भई व्यवस्थित तरिकाले सडकको जाँच गर्ने विधि नै सडक सुुरक्षा परिक्षण हो । यसरी जाँच गर्दा सडकमा हुन सक्ने संभावित खतरालाई पहिचान गर्ने र समाधान गर्ने गरिन्छ । 

तर, नेपालमा कुल सडकमध्ये मुस्किलले २ प्रतिशत मात्रै अडिट गरिएको छ । यसका साथै ब्ल्याक स्पट चिनाउने अध्ययन पनि कम हुने गरेको छ । 

क्षमता भन्दा बढि यात्रु :

देशका विभिन्न ठाउँमा भएका सडक दुर्घटनालाई केलाउने हो भने क्षमता भन्दा बढि यात्रु पनि एउटा प्रमुख कारण बनेको छ  । प्राविधिक रुपमा सक्षम नरहेको सडकमा क्षमता भन्दा बढि यात्रु बोक्दा, सवारी साधनले सन्तुलन गुमाउँदा दुर्घटना हुने गरेको छ । 

सवारी साधनको समयमै मर्मत सम्भार :

सवारी साधनको समयमा नै मर्मत गरिएको छैन वा यात्रा थालनीपूर्व साधनलाई प्राविधिक रुपमा तयारी अवस्थामा नराखेकाले पनि दुर्घटना हुने गरेको पाईन्छ । 

यात्रुको ढिपी :

यात्रुको ढिपीका कारणले पनि सवारी दुर्घटना हुने गरेको छ । गन्तव्यसम्म पुग्न चालकलाई दबाब दिने, छिटो हाँक्न लगाउनेलगायतका व्यवहारले पनि दुर्घटनालाई निम्त्याएको अनुसन्धानले देखाएको छ  । 

अन्य कारण :

वर्कसपको मापदन्ड व्यवस्थित गरिएको छैन । सडक र सवारीसाधन  नियम समय सापेक्षित छैनन् । त्यस्तै, सडक विभागले गरेको अध्ययनले ड्राइभरको ड्राइभिङ ह्याबिट परिवर्तन नभएको देखाएको छ । यसले गर्दा पनि दुर्घटना बढाएको छ । साथै, सडकको मर्मत समयमा हुने गरेको छैन् ।

सचेतना कक्षा :

मापसे/ नियम उल्लङ्घन पश्चात ट्राफिक प्रहरीले सवारी चालकलाई दिने सचेतना कक्षा, सवारी चालक अनुमति पत्र लिनु पुर्व नै दिन सकिन्छ।

उल्लेखित कारणहरु भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, एशियाली विकास बैंक लगायतका संस्थाले गरेको अध्ययन तथा सम्बन्धित क्षेत्रको कुराकानीमा तयार पारिएको हो ।

 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update