Kath khabar
ढाका कुमार श्रेष्ठले पार्टीको छविमा आँच पुर्‍याउने आरोप लगाएकोप्रति रास्वपाको आपत्ति

 

               काठमाडौं, भदौ २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व सांसद ढाका कुमार श्रेष्ठले पार्टीको छविमा आँच पुर्‍याउने आरोप लगाएकोप्रति आपत्ति जनाएको छ ।

केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा ढाका कुमार श्रेष्ठले कोर टिमको सदस्य मोहनजंगले मन्त्री बनाइदिने भन्दै आफूसँग तीन करोड रकम माग गरेको आरोप लगाएपछि पार्टीले छानबिन थालेको हो । ढाकाकुमारको उक्त अभिव्यक्तिलाई लिएर रास्वपाले आज विज्ञप्ति जारी गरेको छ । साथै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य मोहनजंग थापामाथि समेत छानबिन थालेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगको अडियो बाहिरिएपछि उनलाई पार्टीले साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

पार्टीले पूर्व सांसद ढाकाकुमार श्रेष्ठले बिनाप्रमाण पार्टीको छविमा आँच पुर्याउने कलुषित मनसायले भ्रम फैलाएको आरोप लगाएको छ । "यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा.श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारवाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।

साथै पार्टीप्रतिको जनविश्वास, आस्था र भरोसामा चोट पुर्‍याउने कुत्सित प्रयत्न कसैबाट नहोस् भनी सचेत समेत गराउन चाहन्छौं", उक्त विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update