Kath khabar
नेपालका समर्पण लामाले जिते 'इन्डियाज बेस्ट डान्सर सिजन-३' को उपाधि

 

                 काठमाडौं, असोज १४ । भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियाज वेस्ट डान्सर’ सिजन ३ को उपाधि नेपालका समर्पण लामाले जितेका छन् ।

शनिवार राती भएको ग्राण्ड फिनालेमा उनले ट्रफी चुम्दै उनले १५ लाख भारतीय रुपैयाँ जितेका हुन् । उनका कोरियोग्राफरले ५ लाख नगद पुरस्कार पाए । लामा शोका उत्कृष्ट समकालीन डान्सरमध्येका एक थिए र दर्शकको भोटको आधारमा उनी विजेता बनेका हुन् । समर्पणको नृत्य शैली अद्भुत छ। अडिसन राउण्डदेखि नै समर्पणले आफ्नो उत्कृष्ट डान्स मुभले जज र दर्शकको मन जितेका थिए ।

समर्पण बाहेक फाइनल राउण्डमा अञ्जली ममगाई, अनिकेत चौहान, विपुल खाण्डपाल र शिवांशु सोनीबीच कडा प्रतिस्पर्धा भएको थियो । सबै प्रतियोगीहरुले दमदार प्रस्तुति दिएका थिए । सोनी टेलिभिजन नेटवर्कबाट प्रसारण भएको यो शोमा गीता कपुर, सोनाली बेन्द्रे र टेरेन्स लुइसले निर्णायकको भूमिमा निभाएका थिए । फिनालेको अतिथिमा कलाकार गोविन्दा र टाइगर श्राफ र कृति सेनन थिए ।

समर्पणले यस जितका लागि फ्यान र दर्शकलाई धन्यवाद दिँदै ट्रफीसँगै भिडियो सेयर गरेका छन् । उपाधि जितेपछि समर्पणले भने, "यो एक सुन्दर अनुभूति हो । मैले मेरो लागि यसरी आउने अपेक्षा गरेको थिइन । शो जित्न पाउँदा म धेरै खुसी र उत्साहित छु । मैले धेरै भोट पाएको छु र यसले मलाई गर्व महसुस गराउँछ। नेपालमा रत्ननगर नगरपालिका-१३ भीमबहादुर चोकका समर्पणलाई भव्य स्वागत गर्ने तयारी भैरहेको बताइएको छ ।

सानैदेखि नृत्यको शौखिन समर्पण पशु प्रेमी पनि हुन् ।  विशेष गरी उनी कुकुरहरू मन पराउछन् । समर्पणले ‘समर्पण लामा अफिसियल’ नामक युट्युब च्यानल चलाउँछन् । उनले आफ्नो डान्स भिडियोका कारण इन्स्टाग्राम र युट्युबमा हजारौं फ्यानहरू कमाइसकेका छन् ।

#SamarpanLama

 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update