Kath Khabar
आईफोन १५ प्रो मा देखिए धेरै समस्या

 

                काठमाडौं, असोज १७ ।  एप्पलले वर्षेनि सार्वजनिक गर्ने आईफोन डिभाइस विश्वभर चर्चाको विषय बन्छ । यो वर्ष सार्वजनिक भएको आईफोन १५ सिरिज भने तुलनात्मक रूपमा बढी चर्चाको विषय बनेको छ ।

आईफोन १५ सिरिजका मोडेलहरूमा भएका सकारात्मक पक्ष भन्दा पनि कमजोर पक्षलाई लिएर इन्टरनेट भर विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । यहाँ प्रयोगकर्ताले आईफोन १५ प्रयोग गरिसके पछि महसुस गरेका समस्याका बारेमा चर्चा गरिएको छ ।

१. फोन बढी तात्तिने :

आईफोन १५ मा अधिकांश प्रयोगकर्ताले ओभरहिटिङ अर्थात् फोन तात्तिने समस्या सामना गरिरहेका छन् । यसो त एप्पलले नै यो समस्या आईफोनमा भएको बग (कमजोरी) ले भएको दाबी गरेको छ । जसलाई नयाँ मार्फत समाधान गरिने कम्पनीको भनाइ छ ।

एन्ड्रोइड अथोरिटीले पनि आईफोन १५ प्रो परीक्षण गर्दा हेभी टास्कमा सो फोनको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको निष्कर्ष निकालेको थियो । सामाजिक सञ्जाल एक्समा पनि आईफोन १५ प्रयोगकर्ताले तात्तिने समस्या आएको गुनासो गरेका छन् । विशेषगरी फेसटाइम कल, हाई इन्ड गेमिङ र फोरके भिडिओ रेकर्ड गर्दा फोन तात्तिन शुरु हुने उनीहरूले उल्लेख गरेका छन् । 

केही प्रयोगकर्ताले भने आईफोन १५ फास्ट चार्जरले चार्ज गर्दा पनि तात्तिएको जनाएका छन् । फोनको तापक्रम बढी भएकाले नै चार्ज रोकिएको नोटिफिकेसनको समेत स्क्रिनशट सामाजिक सञ्जालमा पोस्ट भएका छन् । 

विशेषगरी नयाँ आईफोनमा सबै कुराहरू सेट गर्दा फोरग्राउन्ड र ब्याकग्राउन्डमा विभिन्न काम हुने भएकाले तात्तिएको हुनसक्ने विश्लेषण गरिएको छ । यदि ब्याकग्राउन्डमा अनावश्यक एक्टिभिटी चलिरहेका छन् भने त्यसलाई बन्द गर्न समेत विश्लेषकहरूको सुझाव छ ।

२. ब्याट्री घट्ने :

फोन तात्तिने मात्र नभई ब्याट्री घट्ने पनि आईफोन १५ सिरिजको अर्को समस्या हो । हुन त पहिलो पटक फोन सेट गर्दा फोन तातिनुका साथै ब्याट्री छिटो घट्नु सामान्य विषय हो । किनभने पहिलो पटक डिभाइस सेट गर्दा ब्याकग्राउन्ड तथा फोरग्राउन्डमा विभिन्न काम भइरहेको हुन्छ ।

त्यस्तै तपाईंले फोन कसरी प्रयोग गर्नुहुन्छ भन्ने विषयलाई आधार बनाइ चार्ज साइकल एडजस्ट गर्न लिथियम आयन ब्याट्रीलाई केही समय लाग्छ । त्यसैले पनि शुरुवाती समयमा ब्याट्री छिटो घट्ने समस्या आउने विश्लेषकहरूले बताएका छन् । केही प्रयोगकर्ताले भने सबै सेट भइसक्दा पनि ब्याट्री चाँडो घट्ने समस्या आइरहेको गुनासो गरेका छन् । 

३. फोन सुन्निने समस्या :

केही प्रयोगकर्ताले खरिद गरेको आईफोन १५ मा फोन तात्तिने, ब्याट्री चाँडो घट्नेदेखि फोन सुन्निने सम्मका समस्या आएका छन् । यसको कारण पनि फोन बढी तातिएकाले ब्याट्री फुल्दा फोन सुन्निएको समस्या आएको हुनसक्ने बताइएको छ । 

४. आईफोन १५ मा स्लो पर्फमेन्स :

फोन तात्तिएकाले नै त्यसको पर्फर्मेन्स घटेको बताइएको छ । टेक ट्याब्लेट्सका युट्युबर क्रिसले एक्समा एक पोस्ट राख्दै आईफोन १५ प्रो म्याक्सको पर्फमेन्स घटेको उल्लेख गरेका छन् । एप्पलले यो समस्या चाँडै समाधान गर्नुपर्ने उनको भनाइ छ । चिपमा बढी ताप परेकाले नै जीपीयूको पर्फमेसन्ट घटेको हुनसक्ने बताइएको छ । 

५. स्लो र ल्याग : 

सफ्टवेयर डेभलपर विलियम ब्राउन्डले एक्समा एक भिडिओ सार्वजनिक गर्दै आईफोन १५ ल्याग भएको दाबी गरेका छन् । यो पनि फोन तात्तिने विषयसँगै सम्बन्धित भएको भनिएको छ । यो समस्या त्यति धेरै प्रयोगकर्ताले सामना गरेका छैनन् । सम्भवतः हेभी टास्क गर्दा यस्ता समस्या देखिन सक्छन् । 

६. फोन अन गर्ने बित्तिकै एप्पलको लोगो फ्रिज हुने समस्या :

 पुरानो आईफोनबाट नयाँ आईफोनमा डेटा ट्रान्सफर गर्ने प्रयोगकर्ताले सेटअप गर्दा एप्पलको लोगो फ्रिज हुने समस्या सामना गरेको दाबी गरेका छन्। एप्पलले यो समस्या समाधान गर्नका लागि आईओएस १७.०.२ अपडेट सार्वजनिक गरेको छ । यदि तपाईंहरूले यो समस्या सामना गरिरहनु भएको छ भने उक्त अपडेट इन्स्टल गर्न सक्नुहुन्छ ।

७. सजिलै फुट्छ ग्लास :

आईफोन १५ प्रो म्याक्स आईफोन सिक्स पछिकै सबैभन्दा कमजोर फोन भएको तथ्य बाहिर आएको छ । युट्युबर जेरी रिगले गरेको ड्युराबिलिटी टेस्टमा फोन हल्का बङ्ग्याउँदा त्यसको ग्लास टुटेको देखिएको छ । आईफोन १५, १५ प्लस र १५ प्रो भने ड्युराबिलिटी टेस्टमा सफल भएको उनको निष्कर्श छ ।

८. डिफेक्ट आईफोन १५ प्रोको बिगबिगी :

अनुसन्धानकर्ता मजिन बुले एक्समा एक पोस्ट शेयर गर्दै आईफोन १५ प्रोका केही युनिट डिफेक्ट भएको दाबी गरेका छन् । विशेषगरी फोनको डिस्प्ले राम्रोसँग नमिलाइएको, क्यामेराको लेन्समा धुलो रहेको, स्क्रिन र फ्रेम कोतारिएको उनको भनाइ छ । उनले अमेरिका, चीन र युरोपेली संघ आबद्ध देशहरूमा बिक्री हुने आईफोन १५ मा यस्तो समस्या बढी भएको बताएका छन् ।

 

श्रोत:टेकपाना

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update