Kath khabar
आजबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

 

                काठमाडौं, असोज २२ ।  दशैँका लागि अग्रिम टिकट बुकिङ खुलेको छ । अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौंको नयाँ बसपार्कमा टिकट बुकिङ गर्नेको घुईंचो लागेको छ । अग्रिम टिकट लिनेहरुको लाइन व्यवस्थित गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयो ।

यसपालि ढिलो गरी अग्रिम टिकट बुकिङ खुला भएको हो । अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक  गाडीको अग्रिम टिकट बुकिङ खुलाउने गरिएपनि यस वर्ष घटस्थापना शुरु हुन ७ दिन अघि मात्रै बाँकी हुँदा खुलेको हो ।

गएको शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र यातायात व्यवसायी बीच भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो । अहिलेकै भाडादर कायम रहेको र चाडपर्वको नाममा तोकिएको भन्दा बढी भाडा लिएको पाइए कारबाही गर्ने यातायात मन्त्रालयले जनाएको छ । हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला काठमाडौंबाट हजारौँ यात्रु बाहिरिने गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update