Kath khabar
हिमालय रोडिज सिजन ५ को उपाधि खोटाङका सञ्जिप राईलाई


                    काठमाडौं, मंसिर १२ ।  हिमालय रोडिज सिजन ५ को उपाधि खोटाङका सञ्जीप राईले जितेका छन् ।

सोमबार सम्पन्न भएको ग्राण्ड फिनालेमा विश्व मगरलाई पछि पार्दै राईले उपाधि जितेका हुन् । उनले १० लाख रुपैयाँ नगद र यामाहा मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् भने उपविजेता मगरले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । र्‍याप गायक समेत रहेका राईले ४ वटा गीत सार्वजनिक गरिसकेका छन् ।

सिजन-५ मा दुवैजना प्रतिष्पर्धी ग्रिन ग्याङ अर्थात टिम लाउरेबाट उपाधिका लागि भिडेका थिए जुन हिमालय रोडिजको इतिहासमा एउटै समूहबाट दुईजना फाइनलिस्ट बनेको यो पहिलोपटक हो । विजेताहरुलाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल र कार्यकारी निर्देशक श्याम कँडेलसहित कार्यक्रमका प्रायोजकले पुरस्कार प्रदान गरे।

साउन १५ देखि सुरु भएको पाँचौ सिजनको डिजिटल अडिसनमा ४ हजार ४ सय र फिजिकल अडिसनतर्फ एक हजार ११६ जना सहभागी थिए । यस सिजनमा बर्दिवास, इटहरी, हेटौंडा, भरतपुर, बुटवल, नेपालगन्ज, पोखरा र काठमाडौंसहित देशका आठ सहरबाट फिजिकल अडिसन भएको थियो  ।

‘पावर अफ फाइभ’को थिममा अगाडि बढेको पाँचौ सिजनमा अभिनेता अनुपविक्रम शाही, र्‍यापर लाउरे, अभिनेत्री दीया मास्के र प्रियंका कार्की ग्याङ लिडरको रुपमा थिए । यस अनुसार ‘टिम येलो’ को नेतृत्व दिया मास्केले गरिन् भने आशिष राना ‘लाउरे’ ले  ‘टिमग्रीन’ को प्रतिनिधित्व गरेका थिए । ‘टिम रेड’को अनुपविक्रम शाही र ‘टिम ब्लु’को नेतृत्व प्रियंका कार्कीले गरेकी थिइन् ।

काठमाडौंसहित विभिन्न जिल्लामा छायांकन भएको रोडिजको यो सिजन चर्चित टेलिभिजन पर्सनालिटी सुरजसिंह ठकुरीले सञ्चालन गरेका थिए । सिमोस सुनुवारको निर्देशन रहेको यो कार्यक्रम हिमालय एचडीबाट प्रशारण भएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update