काठमाडौं, मंसिर २५ । काठमाडौं महानगर क्षेत्रका केही सामुदायिक कुकुरहरुमा डिस्टेम्पर रोग देखिएको छ । महानगरपालिका पशुपक्षी विभागका प्रमुख डा. अवधेश झाका अनुसार कुकुरहरुमा समस्या देखिएको भन्ने स्थानीयको सूचनाका आधारमा परीक्षण गर्दा रोग पत्ता लागेको हो ।
कुकुरमा हुने यो रोग एक कुकुर देखि अर्कोमा सजिलै सर्छ, तर कुकुरबाट मान्छेमा भने सर्दैन । यो प्राणघातक रोग हो । ‘लक्षण देखिए पछि रोकथाम शुरु गरिसकेका छौँ,’ डा. झा भन्छन्, ‘रोग लागेका कुकुरलाई ज्वरो आउने, खाना नखाने, झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने हुन्छ । खोक्ने, बान्ता गर्ने, दिसा पातलो गर्ने, छारे रोग जस्तो लक्षण देखाउने, लडबडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने पनि गर्छन् ।’
रोग लागेका कुकुरका बारेमा जानकारी आएपछि उपचार र व्यवस्थापनको काम थालिसकिएको विभागले जनाएको छ । सामुदायिक कुकुरमा यस्ता समस्या देखिए, महानगरपालिकाको निःशुल्क टेलिफोन नम्बर १६६००१०५५११ र ११८० मा सूचना दिन विभागले अनुरोध गरेको छ । कुकुरबाट कुकुरमा सर्ने भएकाले रोग फैलिएका ठाउँमा घरपालुवा कुकुर बाहिर नलैजान र कुकुरलाई रोग विरुद्धको खोप अनिवार्य लगाउन विभागले अनुरोध गरेको छ ।