
काठमाडौं, साउन १८ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।
आगामी तीन दिन नेपालमा मनसुन केही सक्रिय अवस्थामा रहने हुनाले देशभर धेरै स्थानहरूमा हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत लुम्बिनी प्रदेेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
राती देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी तराई भू-भागका धेरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।