Kath khabar
निर्देशनमा डेब्यु गर्दै कलाकार श्रेष्ठ, चलचित्रको नाम ‘लुसु’


                    काठमाडौं, पुस १९ । कलाकार नवराज श्रेष्ठले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने चलचित्रको नाम ‘लुसु’ राखिएको छ ।

दि पाल्म ग्रुप प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता शेखर लामा रहेका छन् । निर्माताले टिमले चलचित्र निर्माणका लागि गत विहीबार चलचित्र विकास बोर्डबाट इजाजत समेत प्राप्त गरिसकेका छन् । पदम विश्वकर्माको कथा रहेको चलचित्र सामाजिक कथाको रहने छ ।

नेपाल र अमेरिकामा छायांकन हुने चलचित्रको यतिबेला प्रि-प्रोडक्सनको काम भइरहेको छ । फागुनबाट चलचित्रको छायांकन थाल्ने निर्माण पक्षको तयारी छ । चलचित्रको मुख्य कलाकार तथा प्राविधिकहरू केही दिनमा सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले जनाएका छन् ।

अभिनयबाट संगालेको अनुभव र सिकेको ज्ञानलाई निर्देशनमा सदुपयोग गर्ने श्रेष्ठले जनाएका छन् । उनले चलचित्रको कथा सुन्दा यो कथा आफैले भन्नु पर्छ भन्ने महसुस भएर निर्देशनमा आउन लागेको जनाए । सन् १९९४ को चलचित्र ‘बादल’बाट अभिनय यात्रा शुरु गरेका श्रेष्ठले ‘जन्मभूमि’, ‘गुड लक’, ‘स्काउट’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । यस्तै थुप्रै म्युजिक भिडियो तथा विज्ञापनमा पनि श्रेष्ठले अभिनय गरेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update