Kath khabar
चलचित्र 'गोर्खा वारियर' फागुन ११ बाट नेपालमा रिलिज हुँदै


                         काठमाडौं, पुस २४ । पहिलोपटक बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेपछि नेपाली चलचित्र ‘गोर्खा वारियर’ले अन्तराष्ट्रिय जगतमै चर्चा कमाएको छ ।

त्यसो त गोर्खा वारियर हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि समेत चयन भएपछि यसको चर्चा झनै चुलिएको छ । नेपालमा यो चलचित्रको तीब्र पर्खाइ भईरहेको बेला अब ११ फागुनबाट यसलाई देशव्यापी रिलिज गर्न लागिएको निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् ।

यो चलचित्रको रिलिजबारे निर्देशक चाम्सले भने,‘चलचित्र गोर्खा वारियरलाई नेपालमा हामीले फागुन ११ बाट रिलिज गर्दैछौँ भने भारत र दक्षिण कोरियाको रिलिजका लागि यो फिल्मको बिक्री भइसकेको छ । यस्तै अमेरिकाको एउटा चर्चित वितरक कम्पनीले गोर्खा वारियरलाई भारत र कोरियाबाहेक विश्वव्यापी रुपमा रिलिज गर्दैछ ।’

नेपाली, हिन्दी, अंग्रेजी गरी तीन भाषामा निर्माण भएको यो चलचित्रलाई अब कोरियन भाषामा पनि रिलिज गरिने भएको छ । कोरिया रिलिजको लागि कोरियन भाषामा डबिङको कार्य पनि धमाधम भइरहेको निर्देशक चाम्सले जानकारी गराएका छन् ।

दोश्रो विश्व युद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताको साथ लडेर हासिल गरेको सफलतासँगै उनीहरूको सङ्घर्षको कथा यो चलचित्रमा समेटिएको छ । संसारमै साहसिक भनेर चिनिने गोर्खाली योद्धाको संघर्षमै आधारित यो चलचित्रले उनीहरूको युद्धसँगै पारिवारिक कथालाई गोर्खा वारियरले पर्दामार्फत विश्वका दर्शकमाझ पु¥याउने कथन निर्देशक मिलन चाम्सको रहेको छ ।

यो चलचित्रका मुख्य अभिनेता रितेश चाम्सले गोर्खा वारियरबाटै डेब्यु गरेका हुन् । रितेससँगै यो चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइबा छन् । यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update