Kath khabar
ग्लोबल ग्ल्यामर भेन्चरले ‘मिस युनिभर्स नेपाल २०२४’ को आयोजना गर्ने


                     काठमाडौं, पुस २७ । ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने भएको छ । बिहीबार राजधानीमा आयोजित प्रेस मिट्मा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने बारे घोषणा गरिएको हो ।  

ग्लोबल ग्ल्यामर भेन्चरका अनुसार ‘मिस युनिभर्स नेपाल २०२४’ को फर्म आगामी अप्रिलमा खुल्नेछ । १८ वर्ष उमेर नाघेका विश्वभरका नेपाली महिलाहरूले यस प्रतियोगितामा भाग लिन सक्नेछन् । भेन्चरकी प्रमुख कार्यकारी अधिकृत सबि पुरीले यो प्रतियोगिताबारे घोषणा गर्न पाउँदा आफू अत्यन्तै उत्साहित भएको बताइन् । ‘हामी नयाँ सोच लिएर आएका छौं । ऊर्जावान् र समर्पित टिमले कार्यक्रमलाई भव्य बनाउँनेछौ ।’ पुरीले भनिन् । उनले यो वर्षदेखि मिस युनिभर्स नेपालको आयोजक परिवर्तन भएको जानकारी दिइन् । नेपालमा द हिडन ट्रेजरले मिस युनिभर्सको आयोजना पश्चात यो तेस्रो पटक हेरफेर हो । यसअघि उमंग क्रियसनले आयोजना गरेको थियो ।

ग्लोबल ग्ल्यामर भेन्चरकी संस्थापक संगीता पुरीका अनुसार ‘मिस युनिभर्स नेपाल २०२४’ प्रतियोगिताका विजेताले मेक्सिको यात्रा गर्ने अवसर पाउनेछिन् । छनौट प्रक्रिया र पुरस्कारबारे भने घोषणा हुन बाँकी छ । प्रेस मिटमा नेपाल पर्यटन बोर्डका सिईओ डा.धनन्जय रेग्मी, इमेज कन्सल्टेन्ट तथा अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्जेन्डर गोन्जालेज र युनिभर्स वुमन २०२४ कि विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्लाको उपस्थिति रहेको थियो ।

‘युनिभर्स वुमन २०२४’ भ्यालेन्टिना सान्चेज ट्रिभेलाले प्रतियोगितामा सहभागी हुँदा आफूले सिकेका अनुभव गरेका सुनाएकी थिइन् । ‘आयोजकले मलाई नेपाल बोलाउनुभयो । नेपाल कला, संस्कृतिमा निकै धनी लाग्यो ।’ भ्यालेन्टिनाले सुनाईन्, ‘नेपाल आउँदा म मात्रै होइन मेरो परिवार पनि एकदमै उत्साहित छ ।’ उनले नेपाली महिलाहरुलाई ‘मिस युनिभर्स नेपाल २०२४’ मा सहभागि भएर आफ्नो करिअरमा एक इट्टा थप्न प्रेरित गरिन् । यस्तै अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्जेन्डर गोन्जालेजले नेपाली महिलाहरुलाई मिस युनिभर्स नेपाल प्रतियोगितामा सहभागी हुन प्रेरित गरेका थिए ।

ग्लोबल ग्ल्यामर भेन्चरकी संस्थापक संगीता पुरी तथा अध्यक्ष आलोक क्षेत्रीले ‘मिस युनिभर्स नेपाल २०२४’ लाई सफल पार्न सबैको साथ, सहयोगको जरुरी रहेको बताए । मिस युनिभर्स नेपाल २०२४ को बिजेता घोषणा आगामी सेप्टेम्बरमा गरिनेछ । यस्तै यस प्रतियोगितामा विवाहित र अविवाहित सबै महिलाले सहभागिता जनाउन पाउनेछन् । बिजेताले मिस युनिभर्स २०२४ को लागी मेक्सिकोमा ९० देशहरुसँग नोभेम्बरमा प्रतिस्पर्धा गर्न पाउने बताइएको छ ।

यस प्रतियोगितामार्फत आफ्नो व्यापार प्रचार–प्रसार एवं प्रवर्द्धन गर्न बिभिन्न व्यवसायी, रेस्टुराँ, वित्तिय क्षेत्र र अन्य विज्ञापनदातालाई साझेदारीका लागि खुल्ला आव्हान गरिएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update