Kath khabar
इन्डियन आइडलबाट बाहिरिइन् मेनुका

 

                      काठमाडौं, माघ २२ । भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ को प्रतिस्पर्धाबाट मेनुका पौडेल बाहिरिएकी छन् ।

शनिबारको प्रस्तुतिमा बिचमै गीतको शब्द बिर्सिएर संकटमा परेकी पौडेल आज दर्शकले दिएको भोटका आधारमा सबैभन्दा कम भोट पाउँदै टप १० बाट बिदा भएकी हुन् । यस अघि पनि दुई वटा एपिसोडमा मेनुका गाउँदा गाउँदै लडखडाएकी थिइन् । उनले गीतका शब्दहरू बिर्सेकी थिइन् । त्यसपछिको एपिसोडमा पनि आफ्नो मुटुको धड्कन बढेको भन्दै गाउन रोकेर केही समयपछि पुनः गाएकी थिइन्।

इन्डियन आइडलको एक पछि अर्को एपिसोडमा मञ्चमा निर्णायक र अतिथिहरूबाट प्रशंसा बटुल्दै आएकी नेपालकी मेनुका पौडेल उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् । उनले हरेक जसो एपिसोडहरुका दिग्गज कलाकारहरूबाट निरन्तरको वाहवाही पाएकी छिन् । उनको प्रशंसा हरेक एपिसोडमा भएको थियो ।

इन्डियन आइडलमा रहँदा उनले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु गरेकी थिइन् । मेनुकालाई इन्डियन आइडलका कार्यक्रममै आँखा देख्न सहज बनाउन चिकित्सकहरुले ‘एआई भिजन चस्मा’ उपलव्ध गराएका थिए, जसमार्फत अबदेखि उनले पढ्न, हिँड्न र मान्छे चिन्न सक्छिन् । झापाको हल्दिबारीमा जन्मिएकी मेनुका जन्मजात दृष्टिविहीन हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत भनेकी छिन् - 'मेरो इन्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ। म सबैजनालाई विश्वस्त तुल्याउन चाहन्छु कि मैले पहिलेभन्दा अझै सक्रियरुपमा गायन र प्रस्तुतिमार्फत् सबैलाई मनोरञ्जन दिन सक्नेछु। यो मेरो सुरुवात हो, समाप्ति होइन' । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update