Kath khabar
लोकप्रिय ब्याण्ड कन्दराले वैशाख ८ गते धरान रंगशालामा कन्सर्ट गर्दै


                   काठमाडौं, वैशाख ४ । लोकप्रिय ब्याण्ड कन्दराले आफ्नो नयाँ टिमअप सहित धरानमा कन्सर्ट गर्दैछन् । आगामी वैशाख ८ गते शनिबार नयाँ वर्ष २०८१ को अवसर पारी धरानको धरान रंगशालामा "कन्दरा लाईभ इन धरान" सांगीतिक कार्यक्रम मार्फत आफ्नो प्रस्तुती दिने भएका हुन् ।

६ वर्ष अघि धरानसँगै दमक र बिर्तामोडमा भब्य कन्सर्ट सम्पन्न गरिसकेको कन्दरा ब्याण्डमा अहिले  गायक विवेक श्रेष्ठ र सुनिल थापासँगै, नेपालमै  पहिलोपटक जिप्सीज्याज म्युजिक भित्राएका हरि महर्जन, पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा, वेस गितारमा पङ्कज झा, ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनको टिमअप रहेको छ । यो टिम जुटेसँगै कन्दराले "बिचरा म" बोलको गीत सार्वजनिक गरिसकेको छ भने गत पौष २७ गते पोखरामा भब्य कन्सर्ट सम्पन्न गरेर पुन आफ्नो कौशलता प्रदर्शन गरिसकेको छ ।  

पचासको दशकदेखि को निक्कै नै लोकप्रिय ब्याण्ड कन्दराका मुख्य गायक विवेक श्रेष्ठको बिचमा विदेश पलायनले सुस्ताएको कन्दरा विवेक श्रेष्ठको नेपाल आगमनसँगै जुर्मुराउदै आइरहेको छ र अब भने कन्दरा पुरै जोशजाँगरका साथ् नया टिमअपमा मैदानमा आउने जमर्को गरिसकेको छ ।  गत पौष २७ गतेको आफ्नो पहिलो संगीत यात्रा "पहिला घरदेश अनि परदेश" भन्ने नाराका साथ आफ्नो घरेलु मैदानमा सम्पन्न गरिसकेको छ ।

सातै प्रदेशको मुख्य शहरहरुमा कन्सर्ट आयोजना गर्ने पहिलो लक्ष्य अनुरुप धरानमा कन्दराको यो टिमअपको दोस्रो कन्सर्ट रहेको छ ।  यसपछि चितवन, सुर्खेत, नेपालगञ्ज, बुटवल, जनकपुर, काठमाडौँ लगायतका प्रमुख शहरहरुसँगै नेपालका कुना–कन्दरा  लगायतका सम्पूर्ण ठाउँमा आफ्नो कन्सर्ट लिएर जाने योजना रहेको कन्दराका मुख्य खम्बा तथा गायक विवेक श्रेष्ठले बताए ।  

‘लेककी हे माया,’ तगारोमा रुमाल राखी,’ जिन्दगी उत्सव हो’, ‘हङकङ पोखरा’, ‘चञ्चले कान्छीको जोवन ’ ‘लेककी हे माया,’ ‘तिमी पारी त्यो गाउँमा ,’ ‘विदेशीएर गइन् उनी’ “भेंडीगोठैमा, प्रियसीको कल्पनामा बिश्वासको दियो लगायतका थुप्रै पुराना चर्चित गीतहरु संगै नयाँ गीत ‘विचरा म ’ लगायतका गीतहरु कन्दरा लाइभ इन धरान–कन्सर्टको पुरा समय कन्दरा ब्याण्डले पस्केर धराने दर्शकहरुलाई मनोरन्जन् दिनेछन ।  यसघि ६ बर्ष अघि धरानको पब्लिक हाईस्कुलको मैदानमा धरानको दर्शकहरुको पुरै साथ पाएकोले पनि आफ्नो नयाँ टिमअप सहितको कन्दराले पोखरा पछि धरानमा नै कन्सर्ट गर्न रोजेको शहर हो । कन्दरा ब्याण्डले २६ बर्ष अघि धरानको गणेश टाकिजमा आफ्नो पहिलो धरानको कन्सर्ट गरेको थियो ।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कन्सर्टको लागि सम्पूर्ण तयारी भैसकेको छ।  कन्सर्टको साउण्ड, लाइट , स्टेज तथा एलइडीको व्यवस्थापन पूर्वमा नै नाम कहलिएको सुन्दर साउण्ड सर्भिसले गर्दैछ । धरानमा अहिले सम्मकै भव्य र सभ्य कन्सर्टको रुपमा आयोजनाको तयारी भैरहेको छ ।  

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update