
काठमाडौं, साउन ५ । महामारीका कारण लगानीका क्षेत्र खुम्चीएपछि सर्वसाधारणको मात्रै हैन, बैंकहरुको समेत गत वर्ष शेयरमा लगानी केन्द्रित भयो। शेयरबजारको कारोबार बढेर साढे १९ खर्ब सम्म पुगेको देखियो । यसरी बढ्दो कारोबारसँगै शेयरबजारमा लगानी गरेका लगानीकर्ताको सम्पत्ति एक वर्षमा नै २२ खर्बले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार गत वर्षको असारमसान्तसम्म लगानीकर्ताको सम्पत्ति १७ खर्ब ९२ अर्ब रहेको थियो । तर यो वर्ष बढेर यस्तो सम्पत्ति ४० खर्ब १० अर्ब पुगेको छ । यसरी हेर्दा एकै वर्षमा लगानीकर्ताको सम्पत्ति १२ गुणाले बढेको देखिन्छ । बढ्दो कारोबारसँगै नेप्से परिसूचक पनि बढेर असारमसान्तमा आइपुग्दा २८ सय ८३ अंक पुगेको छ । जबकी गत वर्षको असारमसान्तमा नेप्से परिसूचक १३ सय ६२ अंकमा थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्त संस्थाहरुले ५० अर्ब ४१ करोड लगानी गरेका थिए । तर गत जेठसम्मा यस्तो लगानी ४४ अर्बले बढेर ९४ अर्ब ५५ करोड पुगेको छ । बैंंक तथा वित्त संस्थाले शेयरमा गरेको लगानी झन्डै दोब्बरले बढेको देखिएको छ ।
अन्यत्र लगानीका ढोका बन्द भएपछि बैंक तथा वित्त संस्थाहरुले पछिल्लो समय सस्तो दरमा भएपनि शेयरमा लगानी बढाएका थिए । जसले शेयरबजारलाई पनि बुलिस ट्रेन्डमा लग्यो । नेपाल राष्ट्र बैंकका अनुसार गत जेठ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृति कर्जा ८७.६ प्रतिशतले बृद्धि भएको छ । ओभरड्राफ्ट कर्जा २८.२ प्रतिशतले बढेको देखिन्छ । मार्जिन कर्जासँगै ओभरड्राफ्ट कर्जा पनि अहिले ठूलो मात्रामा शेयरबजारमा गएको बैंकरहरु बताउँछन् । शेयरकर्जा बाहेक अन्यमा ठूलो बृद्धि देखिदैन । महामारीका कारण व्यवसाय थलिएकाहरुले लिने कर्जा डिमान्ड तथा चालु पुँजी कर्जा २४.१ प्रतिशतले, बृद्धि भएको छ ।
जेठमसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २६।३ प्रतिशतले बढेको छ ।