Kath Khabar
बढ्दो बजारसँगै शेयरबजारमा ओइरिए लगानीकर्ता, एक वर्षमै अनलाइनमार्फत कारोबार गर्ने २१ गुणाले बढे

काठमाडौं, साउन ८ । आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्ममा पनि शेयरबजारमा २ लाख ४५ हजार लगानीकर्ता रहेका थिएनन । यो वर्षको असारमसान्तसम्म यस्तो लगानीकर्ताको संख्या २ गुणाले बढेको छ । अहिले दोस्रो बजारमा शेयर कारोबार गर्ने लगानीकर्ताको संख्या ८ लाख ७७ हजार पुगेको छ ।

त्यस्तै अनलाइन कारोबारले ब्यापकता पाएसँगै अनलाइन कारोबारीको संख्या पनि ह्वात्तै बढेको नेप्सेले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्ममा ३५ हजार १ सय १९ जनाले अनलाइन मार्फत कारोबार गर्ने गरेकामा यो वर्षको सोहि अवधिमा यस्तो संख्या २१ गुणाले बढेर ७ लाख ९१ हजार पुगेका छन् ।

गत वर्ष १३ सय ६२ दशमलव तीन पाँच अंकमा रहेको शेयरबजार परिसूचक नेप्से यो वर्षको सोहि अवधिमा १ सय ११ दशमलव छ पाँच प्रतिशतले बढेर २८ सय ८३ दशमलव तीन आठ अंक कायम भयो । यसरी एक वर्षमा परिसूचक १४ सय ६१ अंक बढ्दा लगानीकर्ताले त कमाएनै ब्रोकर कम्पनी र सरकारलाई पनि राम्रो आम्दानी भएको देखिन्छ । 

शेयरबजारमा बढेको कारोबारबाट सरकारलाई पुँजीगत लाभकर वापत १४ अर्ब ३४ करोड आम्दानी भएको छ । गत वर्ष ८७ करोड मात्रै आम्दानी भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो आम्दानी १३ अर्ब ४७ करोड अर्थात १५ गुणाले बढेको छ ।

त्यस्तै ब्रोकरको आम्दानीमा लाग्ने आयकरबाट पनि राज्यले १ अर्ब ३९ करोड कमाएको छ । गत वर्ष १८ करोड मात्रै आम्दानी भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो आम्दानी ६ गुणाले बढेको छ । त्यस्तै नेपाल स्टक एक्सचेन्जले यो वर्ष शेयर कारोबारबाट १ अर्ब ८१ करोड कमाएको छ । गत वर्ष २९ करोड मात्रै आम्दानी गरेको नेप्सेले यो वर्ष थप १ अर्ब ५२ करोड अर्थात आम्दानीमा ५ गुणाले बृद्धि भएको छ ।

शेयरबजारको नियमनकारी निकाय धितोपत्र बोर्डले पनि यो वर्षको असार मसान्तसम्म ४३ करोड ४२ लाख आम्दानी गरेको छ । जबकी गत वर्ष यस्तो आम्दानी ४ करोड २४ लाख मात्रै थियो ।

यसरी हेर्दा एकै वर्षमा बोर्डको आम्दानी ३९ करोड १८ लाख अर्थात ९ गुणाले बढेको छ । शेयर कारोबार गराउने ५० वटा ब्रोकर कम्पनीले ९ अर्ब ३१ करोड कमाएका छन् । गत वर्ष १ अर्ब २० करोड कमाएका ब्रोकरहरुको आम्दानी ८ अर्ब ११ करोड अर्थात ६ गुणाले बढेको छ । ब्रोकरेज फि बैज्ञानिक नभएको र ब्रोकरेज फिमा नेप्से र धितोपत्र बोेर्डले लिने शुल्क समाहित गर्न नहुने देखिन्छ ।

त्यस्तै एक वर्षमा लगानीकर्ताको सम्पत्ति २२ खर्ब १८ अर्ब बृद्धि भएको देखिन्छ । गत वर्षको असारमसान्तमा १७ खर्ब ९२ अर्ब रहेको बजार पुँजीकरण यो वर्षको असारमसान्तमा आइपुग्दा ४० खर्ब १० अर्ब पुगेको । साथै यो समयमा बजारमा सुचिकृत भएको शेयर संख्या पनि २० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update