
काठमाडौं, साउन १७ । शेयरबजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र शेयरको कारोबार गराउने नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भित्रि रुपमा बुक बिल्डिङ विधि मार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको शेयर हात पारेको खबर सार्वजनिक भएपछि अर्थमन्त्रालयले बिहिबार धितोपत्र बोर्ड र नेप्सेलाई तीन दिनभित्र स्पष्टिकरण दिन भनेको छ ।
धितोपत्र बोेर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आचार संहिता बिपरित अमेरीकामा रहेकी छोरी रेबीका ढुंगानाको नाममा सर्बाेत्तम सिमेन्टको ११ हजार ९ सय ९२ कित्ता शेयर हात पारेको खबर आएपछि बिहिबार अर्थमन्त्रालयले बोर्डका अध्यक्षलाई स्पष्टिकरण सोध्नुको साटो धितोपत्र बोर्डलाई तीन दिन भित्र जवाफ पठाउन भनेको छ ।
त्यसैगरि नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि आफ्नी श्रीमतिको नाममा १० हजार कित्ता सेयर हातपारेकोमा मन्त्रालयले साउदलाई स्पष्टिकरण नसोधी नेपाल स्टक एक्सचेन्जलाई जवाफ पठाउन भनेको छ । बोर्ड र नेप्सेले संस्थागत रुपमा कारोबार नगरेको यो त त्यहाँ पदासिन रहेका ब्यक्तिले गैर कानुनी तरिकाले सेयर हात पारेकाले ब्यक्तिलाई नै स्पष्टिकरण सोध्नुपर्ने देखिन्छ ।
धितोपत्र ऐन २०६३ अनुसार यसरी शेयरको मूल्यउतारचढाव हुने जानकारीका आधारमा कुनै नजिकको ब्यक्तिलाई जानकारी दिएर शेयर खरिद गर्नु भित्रि कारोबार हो । त्यसैगरि शेयर जारी गर्ने क्रममा सेवा दिने संस्थाका कर्मचारीले सुचना बेच्नुलाई पनि भित्रि कारोबार मानेको छ । यसरी हेर्दा बुक बिल्डिङ बिधीबाट शेयर जारी गर्ने प्रक्रिया अघि बढाएका बेलामा नियामक निकायका ब्यक्तिले शेयर हात पार्नुलाई भित्रि कारोबार त भनिन्छ नै पदिय आचार संहिता बिपरित सित्तैमा हात पारेको भए यो भ्रष्टाचार हुने कानुनविद्हरुको भनाई छ ।
धितोपत्र ऐनमा अध्यक्षले बैठकले बोलाउनु प्रावधान छ र भित्रि कारोबार भएको उजुरी आएमा बोर्डले एकजना अनुसन्धान अधिकृत तोक्न सक्ने व्यवस्था छ । तर, यसमा बोर्डकै प्रमुखले गलत किसिमले सेयर हात पारे के गर्ने भन्ने बारेमा प्रष्ट नबोलेकाले अख्तीयार दुरुपयोग अनुसन्धान आयोग २०४८ सार्वजनिक संस्थाको प्रमुखले अनुचित लाभ लिएमा अख्तीयारले छानवीन गर्न सक्ने व्यवस्था छ ।
यहि अनुरुप अध्यक्ष माथि छानवीन हुनुपर्नेमा मन्त्रालयले भने अध्यक्ष पदमा कायम रहिरहन सक्ने गरि स्पष्टकरणको सहुलियत दिएको छ । किनभने अख्तीयारले छानवीन गरेमा पदबाट स्वत निलम्वन हुने व्यवस्था छ । नियमनकारी निकायकै ब्यक्तिले अनुचित लाभ लिएको प्रमाण बाहिरिएपछि नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बिज्ञहरु बताउँछन् ।
नियमनकारी निकायकै प्रमुख र शेयरको कारोबार गराउने निकायका प्रमुखले यसरी शेयर खरिद गर्नुलाई वित्तीय अपराध मानिन्छ । सरकारले यसमा छानवीन गरि दोषी माथि कार्वाहि गरेमात्रै पुँजीबजारमा रहेको जनताको विश्वास टुट्ने छैन ।