
काठमाडौं, साउन १८ । शेयरबजारमा हुने घटबढको जोखिम मोलेर लगानीकर्ताले लगानी गर्छन् । बजार बढिरहन्छ भन्ने कुनै निश्चीत छैन । मुद्दति निक्षेपमा पैसा राख्दा दुई देखि तीन वर्ष त ढुक्क । तर, योजना अवधि सानो हुने भएकाले त्यसपछि फेरी परिवर्तित ब्याजमा निक्षेप राख्नु पर्ने बाध्यता हुन्छ ।
यसरी दुबै क्षेत्रमा जोखिम मोल्न नचाहने लगानीकर्ताहरुले बैंकको ऋणपत्रमा लगानी गर्न सक्छन् । जसका लागि अहिले ५ अर्ब २० करोडको ऋणपत्र निष्काशनको तयारी छ । १० वर्षसम्म ढुक्क ९ प्रतिशत ब्याज दिने गरि अहिले सिभिल बैंक र सेञ्चुरी बैंकले ऋणपत्र निष्काशन गर्दैछन् ।
सिभिल बैंकले प्रतिकित्ता हजार रुपैयाँ पर्ने ऋणपत्र ३ अर्बको निष्काशन गर्दैछ । धितोपत्र बोर्डका अनुसार ३० लाख कित्ता ऋणपत्र निष्काशनका लागि सिभिल बैंकले आवेदन दिएको छ । जसको अहिले सुरुवाती लेभलको अध्ययन भइरहेको छ ।
त्यसैगरी सेञ्चुरी कमर्सियल बैंकको २ अर्ब २० करोड रुपैयाँको २ लाख २० हजार कित्ता ऋणपत्र निष्काशन अन्तिम चरणमा पुगेको छ । बोर्डका एक अधिकारीले भने ‘हामीले सिभिल बैंक लगायत २ विकास बैंकको पहिलो चरणको अध्ययन गर्दैछौ, तर सेञ्चुरीको दोस्रो चरणको अध्ययन पनि अब अन्तिम चरणमा छ । बोर्डका अनुसार वाणिज्य बैंकको तुलनामा विकास बैंकले ऋणपत्र दिने ब्याज भने केहि कम देखिन्छ ।
गरिमा विकास बैंकले सात वर्षे ऋणपत्रमा ८ दशमलव सात पाँच प्रतिशत ब्याज दिने तयारी गरेको छ । तर कामना सेवा विकास बैंकले भने १० वर्षको ऋणपत्रमा ९ प्रतिशत ब्याज दिने बताएको छ । गरिमा विकास बैंक र कामना सेवा विकास बैंकले एक/एक अर्बको ऋणपत्र निष्काशन गर्न लागेका हुन् ।
के हो ऋणपत्र ?
तोकिएको अवधिभित्र साँवा र ब्याज दुवैभुक्तानी गर्ने शर्तमा संगठित संस्थाले जारी औजार ऋणपत्र हो । यसका लगानीकर्ताले वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज पाउँछन् । आमनागरिकको निष्क्रिय पुँजीलाई बैंकिङ प्रणालीमा खिच्ने र तरलता अभाव हुन नदिने एक महत्वपूर्ण औजारको रुपमा यसलाई लिइन्छ ।
अहिले बजारमा जारी भएका ऋणपत्रको ब्याजदर मुद्दति खाताको भन्दा केही बढी छ । नेपालमा सुरुवातमा आम लगानीकर्ताले यसमा लगानी गर्न रुचि नदेखाएपनि अहिले भने बिक्री हुने क्रम बढेको छ । विदेशमा शेयरबजारमा ऋणपत्रको कारोबार ठूलो हुन्छ । तर नेपालमा भने अहिलेसम्म दोस्रो बजारमा ऋणपत्रको कारोबार एकदमै न्युन छ । ऋणपत्रमा लगानी गर्दा हुने फाइदाबारे पनि आम लगानीकर्ता पर्याप्त जानकार नहुँदा लामो समय यो बिक्री हुन सकेन । त्यसैले यसले दोस्रो बजारमा ठूलो हिस्सा ओगट्न सकेको छैन ।
मौद्रिक नीतिमा वाणिज्य बैंकले चुक्ता पुँजीको २५ प्रतिशत अनिवार्यरुपमा ऋणपत्र निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ । २०७७ असार मसान्त अन्तीम म्याद दिएको राष्ट्र बैंकले महामारी पछि भने यसको म्याद थपेर २०७९ पुर्याएको छ ।