Kath khabar
गरिबी र आतंकको पर्यायवाची बनेको अफगानिस्तानबाट नेपालले के सिक्ने ?

काठमाडौँ, साउन २३ । दक्षिण एशियाली मुलुक नेपाल र अफगानिस्तानका बीचमा साझा विशेषता छन् । हिमाली काखमा रहेका भूपरिवेष्ठीत यी देशहरु भुराजनैतिक हिसाबले पनि समान छन् । धार्मिक रुपमा अफगानिस्तान मुस्लीम बाहुल्य र नेपालमा हिन्दु जनमत भएको भएपनि दुबै देशमा मुलत आर्य नस्लका मानिसका बसोबास छ । अरब देशहरु, रुस, र चीनलाई जोड्ने यो मुलुकमा पश्चिमी राष्ट्रहरुले विशेष चासो राखेको देखिन्छ । सामरिक महत्वको भुगोलका कारण अफगानिस्तानमा ब्रिटेन, रुस र अमेरिकाले पटक पटक सैनिक हस्तक्षेप गरेको देखिन्छ । आज अमेरिकनहरु बहिरी रहँदा फेरि चिनीयाँहरु अफगानीस्तानतर्फ आँखा लगाइरहेका छन् ।

चीन र भारत जस्ता एशियाली राष्ट्रको आर्थिक तथा सैनिक विकासका कारण पश्चिमाहरु आफ्नो प्रभुत्व एशियामा घट्दा चिन्तीत भएका छन् । चीनको अभुतपूर्व आर्थिक विकासबाट सैन्य मजबुती बढ्दा तथा भारतको आर्थिक विकासले पश्चिमाहरुप्रति निर्भरता घट्दा पश्चिमी साम्राज्यवादी मुलुकहरुको चिन्ता बढेको हो । चीनलाई ‘घेर’ भारतलाई ‘हेर’ निति बनाएका अमेरिका र उसँग सैन्य साझेदारी गरेका नेटो सम्बद्ध राष्ट्रको ध्यान नेपालतिर गएको छ । नेपालमा खोलिएका अन्तर्राष्ट्रिय स्तरका गैरसरकारी संस्थामा अधिकांस पश्चिमा राष्ट्र बाट आर्थिक सहयोगबाट चलेका तथा धेरैको कार्यक्षेत्र चीनसँग सिमाना जोडिएका हिमाली जिल्लामा देखिएको हुँदा नेपाल बिस्तारै पश्चिमाहरुको स्वार्थकेन्द्र बन्दै गएको देखिन्छ ।

सन १९५० पछि अमेरिका विश्व शक्ती केन्द्रमा स्थापित भएपछि उसको आँखा नेपालमा गएको देखिन्छ । विगतमा नेपालका राजाहरुलाई अमेरिकी प्रशासनले गर्ने सम्मान तथा अहिले नेपालका राजदुताबासमा पठाइने काबिल अमेरिकन कर्मचारीहरुलाई विश्लेषण गर्दा नेपालमा अमेरिका बलियो डेरा जमाउन चाहन्छ भन्ने प्रष्ट हुन्छ । आधुनिकीकरणका नाममा पसेको अमेरिका अब एम सी सी नामको सैन्य रणनितीमा नेपाललाई समाबेस गरेर आफ्नो अभिस्ट पुरा गर्न खोज्दैछ । अमेरिकन जालमा फसेका अफगानिस्तान जस्ता मुलुकबाट नेपालले बेलैमा शिक्षा लिउन जरुरी छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानी जनताले आफ्नो भाग्य आफै कोर्न सक्नुपर्ने बताउनभएको छ । अमेरिका भ्रमणमा रहेका अफगानिस्तानका राष्ट्रपति अश्रफ घानी तथा राष्ट्रिय मेलमिलापका लागि उच्च परिषदका अध्यक्ष अब्दुल्ला अब्दुल्लाहासगँको भेटपछि बाइडेनको उक्त भनाई आएको हो । पत्रकार सम्मेलनमा अश्रफ घानीले अमेरिकाको निर्णयले अफगानिस्तानको आगामी दिन कठिन हुने तथा भविश्यमा अमेरेकी सहयोग प्राप्त हुने विस्वास ब्यक्त गर्नुभएको छ । वाइडेनले आगामी सेप्टेम्बर ११ सम्म अफगानिस्तानमा रहेका सबै अमेरेकी सेना फिर्ता भैसक्ने बताउनु भएको छ ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरीकामा रहेको विश्व ब्यापार केन्द्रको कार्यालय रहेको गगनचुम्बी जुम्ल्याहा भवन र अमेरेकी रक्षा मन्त्रालयमा पेन्टागनमा आतंकारी संगठन अलकायदाले एकैचोटि आत्मघाती आक्रमण गरेको थियो। आतंकारीले जेट विमान अपहरण गरी ती कार्यालय रहेका भवनमा ठोक्काएर आत्मघाती आक्रमण गरेका थिए । संसारलाई नै स्तब्ध बनाएको उक्त घटनामा उन्नाईस आतंकारीका साथै कम्तीमा तीन हजार निर्दोष नागरिकले ज्यान गुमाएका थिए । अलकायदा तथा यसका सर्बोच्च नेता ओसामा विन लादेनको आश्रयस्थल अफगानिस्तान भएको बताउँदै अमेरेकी सेना त्यहाँ पसेको हो ।

अमेरीकामा आतंककारी संगठनले आक्रमण गर्दा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको थियो । अमेरेकी प्रशासनले आतंकारीलाई हस्तान्त्रण गर्न गरेको अनुरोधलाई तालीवानले अस्विकार गरेपछि ७ अक्टुबर २००१ मा अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो । अमेरीकाले आक्रमण गर्दा दुई तीन महिनामा नै अफगानिस्तानमा शान्ति आउने प्रचार गरेपनि यो लडाइ बीस वर्षमा पनि सकिएन । तालीवानलाई राजधानी काबुलबाट हटाएपनि अमेरिकाले तालीवानलाई समाप्त पार्न सकेन । बीस बर्षको लामो युद्दमा दुई हजार चार सय अठासी अमेरिकी सेना तथा आठ सयभन्दा बढी अमेरेकी निजी गार्डले ज्यान गुमाएका छन् । उक्त युद्दमा छैसट्ठी हजार अफगानी सेना मारिनुका साथै सत्ताइस लाख अफगानी जनता विस्थापित भएका छन् । यस युद्दमा अमेरिकाले एक सय पचाँस लाख करोड अमेरेकी डलर खर्च गरेको छ ।

तालीवान शब्दको अर्थ विद्यार्थी हो । सोभियत सर्मथित सरकारका विरुद्द लड्न उत्तरी पाकिस्तानमा यसको जन्म गराइएको हो । यो संगठन निर्माणमा पाकीस्तान तथा चीनको समेत हात रहेको छ । सोभियत समर्थित सरकार अपदस्त गर्न गरिएको यो संगठन कट्टर मुस्लीमवादी संगठन हो । सुशासन तथा भ्रस्टाचारका विरुद्द भनेर गठन गरीएको यो संगठन विभिन्न देशका दाउपेच तथा स्वार्थका कारण एक अतिवादी संगठनमा परिणत भयो । साउदी अरबले सुन्नी मुसलमान समर्थक बढाउन यो संगठनलाई अथाहा रकम दियो । रुस विरुद्द गठन भएको संगठनमा अमेरीकाको सहयोग नहुने कुरै भएन ।

अफगानिस्तानमा कम्युनिस्ट समाप्त पार्न धार्मिक तथा कम्युनिस्ट विरोधीको साथ पाएर यो संगठनले अफगानिस्तान कब्जा गर्ने तागत बनायो । केही समय राजधानी काबुललाई समेत कब्जा गरेको यो संगठनको सरकारले सिनेमाघर समेत बन्द गराएको थियो । इस्लामी कानुन अनुसार सत्ता संचालन गरेको यसले महिला शिक्षालाई दुरुत्साहन गरेको थियो । तालीबानी सत्तामा मध्ययुगिन बर्बरता देखिन्छ । आज पनि उनीहरुले अफगानिस्तानको ठुलो क्षेत्र कब्जा गरी अरबौँ कर उठाउँदै सत्ता चलाइरहेका छन् । युद्द रकेट तथा आधुनिक हात हतियारबाट सुसज्जित यो समुहले फेरि काबुल कब्जा गर्न सक्ने आकंलन गरिएको छ ।

तालीवान आतंक खत्तम पारी अफगानिस्तानमा लोकतन्त्र र शान्ति स्थापना गर्ने नारा दिएर अमेरिका तथा उसको सहयोगी संगठन नेटोले आक्रमण गरेका थिए । आज पनि तालीवानको आतंकबाट अफगानिस्तान त्रस्त छ तर तीनै तालिवानसँग संझौता गर्दै अमेरिका पन्छिन खोजेको छ । अमेरीकाले बिन लादेन मारिएको, पाकिस्तानालाई अफगानिस्ताबाट तटस्थ राख्न सफल भएको, आतंकवादी नेटवर्क तहसनहस पारेको, साउदी अरबबाट तालीवानसँगको सम्बन्ध टुटाएको र सामुहिक रक्षाका लागि नेटोलाई एकजुट पार्न सफल भएको जस्ता उपलब्धीहरु प्राप्त भएको दाबी गरेको छ ।

समय बलवान हुन्छ यसलाई रोकेर राख्न सकिदैँन । संसारमा महाशक्ति भनेर चिनिएको अमेरिकाले युद्द थोपरेर अफगानिस्तानलाई तहस नहस पारेपनि उ पनि नराम्ररी पराजित भएको छ । आफैले शुरुमा संरक्षण गरेका तथा हौस्याएका विल लादेन तथा तालिवानबाट अमेरिकाले महङ्को पाठ पढेको छ । अफगानिस्तान आक्रमण गर्ने अमेरिकाका तत्कालीन रास्ट्रपति जर्ज डब्लु बुसको हुँकारलाई प्रतिवाद गर्दै तालिबानका सर्बोच्च कमान्डर उभरको अभिब्यक्ति आज प्रमाणित भएको छ । उहाँले ‘दुनियाँभरका घडी अमेरिकाको साथमा छ तर समय हाम्रो हातमा छ’ भन्नुभएको थियो ।

युद्द निर्मम हुन्छ जसको परिणामको पुर्वअनुमान असम्भब हुन्छ भन्ने भनाइ अमेरिकाले साबित गरेको छ । तथाकथित अमेरेकी उपलब्धीलाई सुक्ष्म अध्यन गर्ने हो भने अफगानिस्तानले विदेशी युद्दबाट ठुलो मुल्य चुकाउनु परेको छ । बीस वर्षसम्म विदेशी सेनाले परेड खेल्दा अफगानिस्तानको सभ्यता, संस्कृति नास हुनुका साथै आर्थिक रुपमा जर्जर भएको छ । तालीवानी संगठन लगाएतका आतंकारी संगठनहरु जुरमुराइरहदा अमेरीकी सेना फर्किनु तथा अफगानीले आफ्नो भाग्य आफै कोर्नुपर्दछ भन्ने उपदेश सुन्नपर्दा अफगानी जनता निरास भएका छन् ।

उन्नाइसौँ सताब्दीमा अंग्रेजको आक्रमणबाट सार्वभौमसत्ता खोसीन पुगेको अफगानी भूमि आज पनि अशान्त छ । अधिकांश भाग अंग्रेजको कब्जामा परेको यो देश सन १९७९ शोभियत संघको फौजले कब्जा गरी दुई दशक कम्युनिस्ट नामको कठपुतली सरकार चलाएको थियो । शोभियत समर्थित सरकार हटाउन देशी विदेशी शक्ति लाग्दा सफल भएपनि अफगानी जनता अहिले पनि असफलताका परिणाम भोगिरहेका छन् । उनीहरुको निहित स्वार्थमा अफगानी जनता अहिलेपनि युद्दकै मैदानमा बाँच्नु परेको छ । राजनिति सुझबुझ बिना विदेशी सहयोगमा सत्ता कब्जा गर्ने संस्कारले अफगान भूमि अशान्तिको पर्याबाची भएको छ । विदेशी शक्ति केन्द्रको स्वार्थ आकंलन नगरी सहयोगको हात फैलाउदा परिणाम कति भयानक हुन्छ भन्ने उदाहरण अफगानिस्तानले दिएको छ । विदेशी सेनाको परेड कति पिडादायी हुन्छ भन्ने कुरा आज प्रत्येक अफगानीले महसुसगरेको हुनुपर्दछ ।

अफगानिस्तान प्राचिन तथा चर्चित रेसम मार्गमा पर्ने ऐतिहासिक भूमि हो । मानव प्रवासको आदिम भूमि यहाँ पाषाणकालिन मानवबस्तीको अवसेष प्राप्त भएका छन् । इसा पूर्व तीन हजार वर्षअघि नगरीय सभ्यता शुरु भएको यस भूमिमा महाभारत कालिन गंधार राज्य आज पनि कंधारको नामबाट सुपरिचित छ । धार्मिक हिसाबले सुरुमा हिन्दु धर्मको प्रभाव रहेको अफगानिस्तानमा पछि बौद्द धर्मको ठुलो प्रभाव परेको थियो । पछि मुस्लीम राज्यबाट आक्रमण एवं शासित भएपछि यो मुस्लीम धर्मालम्बीको देश भयो ।

दक्षिण एशियामा पर्ने इस्लामिक गणराज्य अफगानिस्तानले सन २००८ मा दक्षिण एशियाली सहयोग संगठन सार्कको सदस्ता प्राप्त गरेको थियो । सठ्सट्ठी लाख सत्तचालीस हजार पाँच सय वर्गकिलोमिटरमा फैलिएको यो देशमा मुख्यरुपमा फारसी तथा पश्तो भाषा प्रयोग गरिन्छ । पश्तुन नामले चिनीने पठान वा अफगान जातको बाहुल्यता रहेपनि यहा धेरै जातका मानिस बसोबास गर्दछन् । युद्दका कारण जर्जर एवं गरिब भएको यो मुलुकमा औषतमा प्रतिब्यक्ति आय बार्षिक सात सय अन्ठाउन्न अमेरेकी डलर मात्र छ ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update