काठमाडौं, कात्तिक १६ । शिक्षामन्त्री महावीर पुनले केही आशालाग्दा अभियन्ता र समाजका अगुवाहरूको बेलाबेलामा असामान्य हुने गरेको बताएका छन् । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको हिजो रातिको स्टाटसलाई इगिंत गर्दै सर्को ताने पनि तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध गरेका छन् ।
उनले लेखेका छन् -
"केहि केहि आशा लाग्दा अभियन्ताहरु र अगुवाहरुले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ। सर्को ताने पनि केहि छैन । तर सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ।"
गएराति मेयर बालेनले सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरी स्टाटस लेखेका थिए, जसलाई लिएर उनको चर्को आलोचना भइरहेको छ । उनले स्टाटसमा चीन, भारत र अमेरिकालगायत देशलाई अश्लील शब्द प्रयोग गरेर गाली गरेका थिए भने नेपालका राजनैतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाको नामसमेत प्रयोग गर्दै अपशब्द लेखेका थिए । तर उक्त स्टाटस अहिले सामाजिक सञ्जालबाट हटिसकेको छ । उक्त पोस्टको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

