
काठमाडौं, भदौ २७ । सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गर्ने सहमति भएको छ ।
बिहीबार राति राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको बैठकले यस सम्बन्धमा सहमति जनाएको छ । तर संसद् विघटन गर्ने विषयमा सहमति जुट्न नसक्दा कार्कीको नियुक्तिमा ढिलाइ भएको छ । संसद् विघटनविना कुनै प्रक्रिया अघि बढ्न नसक्ने जेनजीतर्फको अडान थियो । तर राष्ट्रपति पौडेलले संसदबाटै निकास निकाल्ने कुरामा जोड दिए । यस विषयमा अन्तिम निर्णय गर्न आज बिहान ९ बजे अर्को बैठक तय गरिएको छ ।
संविधानविद्सँग छलफल गर्नुपूर्व राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुख घिमिरे, दलका नेताहरू, पूर्वप्रधानमन्त्रीलगायतसँग परामर्श गरेका थिए । प्रमुख दलका नेता तथा सांसदहरूले प्रतिनिधिसभा विघटन गर्न नहुने सुझाव राष्ट्रपतिलाई दिएका थिए । आन्दोलनरत जेन–जी समूहले प्रधानसेनापति अशोकराज सिग्देलमार्फत दबाब बढाइरहेका छन् । त्यसको बिफ्रिङ सेनापति सिग्देलले राष्ट्रपति पौडेललाई गराइरहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम नेता नियुक्त गर्ने प्रक्रिया सुरु गर्न नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थितिमा कार्कीसँग बैठक बोलाएका थिए । मध्यरातसम्म पनि तीन जनाबीच शितल निवासमा छलफल भएको थियो ।