Kath Khabar
कोभिडमा विप्रेषणको अवस्थाः उच्च, मध्य र सरल रेखा

श्रम विज्ञ डा.गणेश गुरु

कोभिड १९ महामारी र विप्रेषणको कुरा गर्दा नेपालको सन्र्दभमा अनौठो पन देखिएको छ। यसलाई नयाँ पन भनेर परिभाषित गरौं। कोभिडाका कारण श्रम स्वीकृति र अन्तराष्ट्रिय उडान बन्द भएको अवस्थामा पनि समग्रमा वैदेशिक रोजगारीमार्फत् मुलुकलाई प्राप्त हुने विप्रेषणमा भने बढोत्तरी भएको छ। कोभिड कै कारण मुलुकको अधिकांश क्षेत्र प्रायः ठप्प हुदाँ विप्रेषण आगमनको रेखा हेर्ने हो भने प्रत्येक दिन करिब २ अर्ब विप्रेषण भित्रिएको छ।

यता कोभिडको महामारीबाट विश्वका अधिकांश मुलुक प्रभावित भएको अवस्थामा नेपालमा पनि कोभिड संक्रमण बच्नको लागि भन्दै २०७६ चैत ११ देखि मुलुकमा ‘लकडाउन’ गरियो। जसले गर्दा वैदेशिक रोजगारी परोक्ष÷अपरोक्ष रुपमा प्रभावित बन्यो। कोभिडले मुलुकको शिक्षा, स्वास्थ्य, यातायात,पर्यटन, नागरिक उडडयान, सेवा, उद्योग लगायतका क्षेत्र समेत प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा प्रभावित बन्यो। नागरिकहरुको दैनिक समेत प्रभावित बनेको उक्त समयमा वैदेशिक रोजगारीको क्षेत्रमा युवाहरु विदेश जाने÷आउने क्रम ठप्प भयो।

लकडाउन अघि नै अर्थात् २०७६ फागुन देखि श्रम स्वीकृत बन्द गर्दा वैदेशिक रोजगारी शून्य हुन पुग्यो। यता लकडाउन सँगै श्रम स्वीकृति बन्द हुदाँ युवाहरु विदेश जान पाएनन्। जसले गर्दा वैदेशिक रोजगारीमा जाने युवाको संख्या शुन्य हुन पुग्यो। तर, यसैबीच वैदेशिक रोजगारीको लागि रोचक पक्ष के रह्यो भने श्रम स्वीकृत र अन्तराष्ट्रिय उडान बन्द हुदाँ युवाहरु विदेश उड्न नपाँउदा विदेशबाट आउने विप्रेषणलाई तथ्यगत र तथ्यांकमा हेर्दा बढोत्तरी रेखा भेटाउन सफल भयौं। सामान्य भाषामा भन्नुपर्दा २ वर्ष प्रायः ठप्प भएको वदैशिक रोजागरीको सो मसयमा विप्रेषण भने बढ्यो।
अब तथ्यांकमा नै विप्रेषणलाईै विश्लेषण गर्दा आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाहको रेखा उकालो लागेको पाउन सक्छौं। विदेश जाने प्रायः ठप्प भएको अवस्थामा विप्रेषण आप्रवाहको रेखा भने उकालो लागेको थियो। तथ्यांकमा नै विप्रेषणलाई हेर्दा आर्थिक वर्ष २०७७/०७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढी ९ खर्ब ६१ अर्ब ५ करोड पुग्यो।

सरकारी तथ्यांकलाई हेर्दा कोभिडको समयमा युवाहरुमा वैदेशिक रोजगारीमा जाने मोहमा कमी आएको पायौं। आर्थिक वर्ष २०७७/७८ मा श्रम स्वीकृति लिने युवाहरुको संख्या ७२,०८१ र पुनः श्रम स्वीकृति प्रदान संख्या १६,६८९ रह्यो। आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत –नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले कमी आयो। अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो।

कोभिडको महामारीलाई रोक्नको लागि लकडाउन गरेको वर्षमा समेत विप्रेषण आप्रवाह बढेको छ। विश्व समुदायालाई कोभिडको असर पर्दा सो समयमा भने नेपालमा विप्रेषण भित्रिने गतिले बढोत्तरी लिएको थियो। सरकारी तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७५/०७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढी ८ खर्ब ७९ अर्ब २७ करोड रकम मुलुकमा विप्रेषण हुदै भित्रियो। आर्थिक वर्ष २०७५/७६ मा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजागरीमा जाने नेपालीको संख्या समीक्षा वर्षमा ३२.६ प्रतिशतले घटेको थियो। पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजागरीमा जाने नेपालीको संख्या भने समीक्षा वर्षमा ५.४ प्रतिशतले बढेको थियो।

यस्तै आर्थिक वर्ष २०७५/७६ मा श्रम स्वीकृति लिने युवाको संख्या २३६२११ र पुनः श्रम स्वीकृति प्रदान संख्या ५०८८२८ रहेको थियो। कोभिडको कारण विदेशस्थित कम्पनीहरु समेत लामो समय नखुल्ने/बन्द हुने लगायतका समस्या भयो। जसले गर्दा ती कम्पनीमा कार्यरत नेपाली युवाहरु विदेश नफर्किने मनसायले स्वदेश फर्किए। यसरी स्वदेश फर्किदा उनीहरुले विदेशमा रहेको सम्पूर्ण रकमहरु स्वदेश ल्याएको पाईन्छ। विदेशको बैंकमा भएको रकम, बिमा, थप समय काम गरेको, सेवा सुविधाको सम्पूर्ण रकम समेत ल्याउदा रेमिटेन्स बढ्न पुगेको छ।

कोभिडका कारण विदेशमा बजार, सपिङ सेन्टर,पार्क लगायतका स्थान खुला नहुदाँ नेपाली युवाहरुको विदेशमा रकम नै खर्च हुन सकेन। जसले गर्दा घर फर्किदा उनीहरुले ल्याउने इलेक्ट्रोनिक सामग्री शून्य अर्थात् मँहगो रकममा टेलिभिजन सेट, मोबाइल सेट, लत्ता कपडा लगायतका सामग्री खरिद गर्ने वातावरण नहुदाँ सम्पूर्ण रकम जोगिन पुग्यो। अर्कोतर्फ सामान्य अवस्थामा युवाहरु स्वदेश आएर पुनः विदेश जाने गर्थे । त्यसको लागि दुईतर्फी हवाई टिकट काट्ने गरेकोमा फर्किन अनिश्चितताले गर्दा हवाई टिकटको रकम समेत जोगिन पुगेको छ।

लकडाउन हुदाँ नेपालमा वित्तीय संस्थाहरु बन्द हुन पुगे जसले गर्दा विदेशबाट नेपालका बैंक तथा वित्तीय संस्थामा रकम पठाउन सम्भव भएन जसले गर्दा विदेशमा बसेर हुन्डीको कारोबार पूर्ण रुपमा बन्द हुनपुग्यो। त्यसैले गर्दा लकडाउन खुकुलो भई बैंक तथा वित्तीय संस्था खुला हुदाँ विप्रेषणमा कमी आयो भने बैंक तथा वित्तीय संस्था नखुल्दा विप्रेषण बढ्न पग्यो। यसले के प्रमाणीत गर्छ भने विदेशमा बसेर कतिपय नेपालीले हुन्डीको कारोबार गर्छन् भन्ने प्रमाणीत हुनपुग्छ। लकडाउन हुदाँ युवाहरुले आफू स्वयंले रकम लिएर आउनुको साथै नेपालमा वित्तीय संस्था खुला हुन साथ वैधानिक ढंगले रकम पठाँउदा रेमिटेन्स बढको पाउन सक्छौं। विदेशमा बैंक तथा वित्तीय संस्था खुला हुदाँ नेपालमा नखुल्दा समेत हुन्डी कारोबार हुन सकेन जसको प्रत्यक्ष असर रेमिटेन्समा परेको देखिन्छ।

वैधानिक बाटोबाट विदेशमा रहेको युवाहरुले स्वदेशमा रकम पठाँउदा रेमिटेन्समा वृद्धि भएको छ। त्यसैले के भन्न सकिन्छ भने यसअघिका समयमा युवाहरुले वैधानिक बाटोबाट अर्थात् नेपालका बैक तथा वित्तीय संस्थाबाट पठाउने गरेका छैनन् भन्ने यर्थाथता समेत हामीले अनुभव गर्न पायौं ।त्यसैले गर्दा अब हामीले विदेशको कमाई वैधानिक बाटोबाट ल्याउने प्रयास सदैव गर्नु आवश्यक छ।

अन्तराष्ट्रिय बजारमा सुन र पेट्रोलको भाउ घटबढ हुदाँ समेत नेपालमा आउने विप्रेषणमा असर पर्दछ। नेपालको तुलनामा विदेशमा सुनको मूल्यमा केहि मात्रामा भए पनि कमी हुने हुदाँ युवाहरु सुन बोकेर आउने प्रचलनमा समेत रोक लाग्न पुगेको छ। विदेशबाट आएको सुन भारतसमेत पुग्ने गरेको छ जसले गर्दा रेमिटेन्समा समेत असर पर्ने गरेको छ तर कोभिडको समयमा विदेशबाट सुन ल्याउन सम्भव भएन भने अर्कोतर्फ नेपाल आएको सुन भारत समेत जान सकेन।  

विदेश जाने युवाको संख्या नकारात्मक र विप्रषेण आप्रवाहको अवस्था सकारात्मक देखिदा अन्तराष्ट्यि उडान बन्द गर्ने सरकारी निर्णयले वैदेशिक रोजगारीको क्षेत्रमा अर्को कालो धब्बा लाग्न पुगेको देखिन्छ। यद्पि सरकारको सो निर्याय मानवीय जीवन रक्षाको लागि हुदाँ त्यसलाई टिकाटिप्पणी गर्ने विषय भएन। अन्ततः २०७७ साउनमसान्त्सम्म अन्तराष्ट्रिय उडान खुला हुन सकेन। जसले गर्दा युवाहरु विदेश जान सकेनन् । सो समयमा अन्तराष्ट्रिय उडान खुला गर्न सरोकारावालाले सरकारसँग निरन्तर माग गरिएको पाईन्छ।

कोभिडको मध्य समय अर्थात् लकडाउनले गर्दा मुलुकको सम्पूर्ण क्षेत्र प्रायः ठप्प हुदाँ यसबाट वैदेशिक रोजगारीको क्षेत्र समेत प्रभावित बन्न पुग्यो। आर्थिक वर्ष २०७६÷०७७ मा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले कमी आई ८ खर्ब ७५ अर्ब ३ करोड भित्रियो। आर्थिक वर्र्ष  २०७६÷०७७ मा वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत –नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीको लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ। सोहि वर्ष २०७६÷०७७ मा श्रम स्वीकृति लिने युवाको संख्या १९०४५३ र पुनः श्रम स्वीकृति प्रदान संख्या ३६८४३३ रहेको थियो। आर्थिक वर्ष २०७६÷०७७ मा वैदेशिक रोजागरीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत –नयाँ र वैधानिकीकरण) लिने ननेपालीको संख्या २०.५ प्रतिशतले घट्यो। अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतशितले घटेको थियो।

विप्रेषण प्रवाहलाई हेर्दा हरेक दिन उत्साहजनक देखिन पुग्दा युवाहरु वैदेशिक रोजगारीमा जान तछाड÷मछाड गरेको छन् भन्न सकिने अवस्था छ। हाम्रो परिपक्ष्येमा युवाको मुख्य गन्त्व्यको रुपमा मलेसिया र खाडाीका ६ वटा मुलुकहरु कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत,ओमान र बहराइन रहेको छ। यी बाहेक ११० मुलुकलाई संस्थागत र करिब १७२ वटा मुलुकमा व्यक्तिगत श्रम स्वीकृति लिएर युवाहरु जोन गरेको पाईन्छ। कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत,ओमान,  बहराइन, दक्षिण कोरिया, जापान, मलेसिया, इजारायल, जोर्डन र मौरिसस गरी ९ मुलुसँग द्धिपक्षिय श्रम सम्झौता भएका छन्। नेपाली युवाहरु विशेष गरी मलेसिया र खाडीका मुलुकहरुमा सुरक्षा गार्ड, लेबरकको रुपमा काम गर्ने गर्छन् । ती बाहेक होटल, रेष्ट्ुरेन्ट लागयतका क्षेत्रमा समेत उनीहरुले रोजगारी गर्छन्। उनीहरुले विदेशमा कमाएको रकम भने नेपालमा रहेका परिवारमा खर्च गर्ने गर्छन्। उनीहरुले परिवारको शिक्षा, स्वास्थ्य, खााना, पोशाक, घर लगायतका आधारमूत आवश्यकतामा र बाँकी रकमले विलासीताका साधन अर्थात् महँगा मोबाइल, टेलिभिजन, फ्रिज, पंखालगायतका आधुनिक सामग्रीमा खर्च गर्ने गरेको पाईन्छ। युवाहरुले स–साना व्यवसाय तथा उद्यमहरुमा समेत विप्रेषणको प्रयोग गरेको पाईन्छ।

कोभिड महामारीको कुरा गर्दा यसको सुरुवात सन् २०१९ को डिसेम्बर देखि चीनको बुहानबाट सुरु भएको कोभिड १९ विश्वव्यापी महामारीको रुपमा फैलिएको हो। २४ जनवरी २०२० मा चीनको बुहानबाट नेपाल फर्केका एक नेपाली विद्यार्थीमा पहिलो संक्रमण देखिएपश्चयात कोभिड संक्रमण रोक्नको लागि नेपाल सरकारले मुलुकमा लकडाउन गरेको थियो। लकडाउनमा विद्यालय, कलेज तथा शैक्षिक संस्था, कलकारखाना, शहर, स्थानीय बजार, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक क्रियाकलपाप प्रायः ठप्प हुन पुग्यो । यस्तै यातायात क्षेत्र र आन्तरिक र अन्तराष्ट्रिय उडान समेत बन्द थियो। सो अवस्था २०७७ साउन ५ सम्म कायम रहेको थियो। मुलुकको अर्थतन्त्र नै समस्याग्रस्त हुने भए पछि सरकारलाई लकडाउन खुला गर्न दबाब परेको थियो।

(नोटः वैदेशिक रोजगार पत्रकार समाजको २०७८ को स्मारिकामा प्रकाशन भएको यो आर्टिकल काठखबर डटकमलाई प्रकाशन गर्नको लागि गरिएको आग्रह अनुरुप, प्रकाशित गरिएको हो , करिब ५० प्रतिशत शीर्षक परिवर्तन गरिएको छ)

 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update