काठमाडौं, चैत २६
दैनिक जीवनमा आवश्यक बनिसकेको रबर मुलुकमा उत्पादन नहुँदा आयात गर्नुपर्ने वाध्यता रहेको छ । सरकारी स्वामित्वमा स्थापना भएको नेपालको पहिलो रबर उद्योग गोरखाली रबर उद्योग बन्द भए सँगै नेपालमा रबर आयात हुदै आएको छ । यसैबिच निजी क्षेत्रले रबर उद्योगमा लगानी गर्ने भएको छ ।
रबर उत्पादन गर्न कै लागि झापा घैलाडुव्वा ७ मा कन्काई उद्योग स्थापना तथा सञ्चालनको तयारीमा रहेको छ । २० करोड रुपैयाँ लगानी रहेको उक्त उद्योग अब चाँडै नै सञ्चालन हुने बताइएको छ भने निजी क्षेत्र तथा उद्योगीहरुले कन्काईका साथै अन्य सातवटा रबर उद्योग स्थापना गर्ने बताएकाछन् । उद्योग विभागका अनुसार उद्योगीहरुले कन्काई सहित अन्य सात वटा उद्योगहरुले एक अर्ब तीन करोड भन्दा बढी लगानीमा रबर उत्पादन गर्न लागेकाहुन् । ती उद्योगबाट वार्षिक ४६ हजार मेट्रिक टन बराबरको परिमाणमा रबरका सामग्री उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
यसरी रबरका सामग्री उत्पादन गर्ने भन्दै लगानी गर्न तयार हुनेमा मोदी रबर प्रालि, जय नारायणी रबर उद्योग, पारमाउन्ट रबर र्फम, लुम्बिनी रबर उद्योग, अन्नपूर्ण रबर उद्योग, हिमालयन रबर कोअपरेशन, त्रिवेण्ी रबर उद्योग र कन्काई रबर उद्योग रहेकाछन् । रबरका सामग्री उत्पादन गर्ने उद्देश्य राखेका मध्ये त्रिवेणीले ३० करोड, लुम्बिनीले २५ करोड , कन्काईले २० करोड, हिमालयनले १४ करोड ९५ लाख, अन्नपूर्णले सात करोड ६५ लाख, मोदीले दुई करोड ६९ लाख, जय नरायणीले एक करोड ६५ लाख र पारामाउन्टले एक करोड ४८ लाख रुपैयाँ रबर उद्योगमा लगानी गर्ने जनाएकाछन् ।
काभ्रेपलाञ्चोक, बारा, सुनसरी, रुपन्देही, नवलपरासी र झापामा स्थापना गरिने ती उद्योगहरुले रबरहरुको टायर टयुब, फुटवेयर,जुत्ताको सोल, म्याट, बेलुन लगायतका सामग्री उत्पादन गर्ने लक्ष्य राखेकाछन् । यदि उद्योगले रबरका ती सामग्रीहरु उत्पादन गरेमा अर्बों रुपैयाँको रबर आयात गर्नुपर्ने वाध्यताबाट नेपाली व्यवसायीहरु वञ्चित हुनेछन् जसले गर्दा रबर आयात गर्दा व्यहोर्नुपर्ने झन्झटबाट समेत उनीहरु मुक्त हुनेछन् ।
पछिल्लो केहि वर्ष भने नेपाली किसानहरु पनि रबर खेतीतर्फ आर्कषित भएको पाईन्छ । सोहि क्रममा झापा, सुनसरी, मोरङ तथा सप्तरी क्षेत्रमा किसानहरुले व्यवसायीक रबर खेती सुरु गरेका छन् । उनीहरुले करिब आठ सय हेक्टर क्षेत्रफलमा रबर खेती गरेका हुन् । नेपालमा गरिने रबर खेती भनेको शतप्रतिशत प्राकृतिक हुदाँ यसको उत्पादन पनि गुणस्तरीय हुनेछ ।
नेपालको पहिलो रबर उद्योग गोरखकाली रबर उद्योग भने २०४१ सालमा गोरखा, मझुवा देउराली ९ मा स्थापना गरिएको थियो । स्थापना भएको नौ वर्ष पछि अर्थात् २०५० देखि उद्योगले व्यवसायिक उत्पादन थालेको उक्त उद्योगले वार्षिक ८० हजार ट्रक टायर तथा ४० हजार अन्य टायर उत्पादन गर्ने गरेको थियो भने उद्योगमा भएको राजनीतिकिकरणका कारण २०७१ चैतमा बन्द हुन पुगेको थियो । जुन नेपालको अर्थतन्त्रको लागि दुर्भाग्यपूर्ण दिनको रुपमा चित्रण गर्न सकिन्छ ।
गोरखकाली रबर उद्योग बन्द भएको यति लामो समय बित्दा पनि यसअघि निजी क्षेत्रले रबर तथा टायर उत्पादनमा चासो दिएको थिएन । यसरी सरकारी र निजी क्षेत्र दुवैले रबर तथा रबरजन्य उत्पादनमा ध्यान नदिदाँ वार्षिक अबौं रुपैयाँ बराबरको रबरजन्य सामग्री आयात गर्नु परेको अवस्था रहेको थियो । भन्सार विभागको तथ्यांक अनुरुप गत आर्थिक वर्षमा करिब रु छ अर्ब बराबरको सवारी साधानमा प्रयोग हुने टायर आयात गरिएको छ । नेपालमा आयात गरिने टायर भारत, चीन, भियतनाम, टर्की, बेलायत अमेरिका लगायतका दर्जनभन्दा बढी मुलुकबाट आउने गरेको तथ्यांकले देखाएको छ । यस्तै टायर मात्र नभई तेस्रो मुलुकबाट नेपालमा पेटी, जुत्ता, जुत्ताको सोल, म्याट, बेलुन लगायतका रबरजन्य सम्पूर्ण सामग्री आयात हुने गरेको छ । मुलुक मै रबर उद्योग स्थापना भएको खण्डमा भने रबरजन्य सामग्री सस्तो मूल्यमा पाउनुको साथै व्यवसाय सञ्चालन गर्न समेत सहज हुने व्यवसायीहरुको भनाई रहेको छ । यस्तै उद्योग स्थापना सँगै रोजागारी तथा आर्थिक क्रियाकलापमा समेत स्वभाविक रुपमा वृद्धि हुने हुदाँ अर्थतन्त्र समेत चलायमान हुन पुग्छ ।