Kath Khabar
प्रधानमन्त्रीको बोली : कति पत्याउने कति नपत्याउने ?

काठमाडौं, वैशाख १५ । प्रधानमन्त्री भनेको देशको प्रमुख कार्यकारी मात्र होइन कतिपय हिसाबले अनुकरणीय पदाधिकारी पनि हो ।  यस्ता पदाधिकारीबाट सम्पादन हुने काम, बोलिने कुरा र गरिने व्यवहारले समाजलाई  निर्देश गर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका बोली भने धेरै अंश घोचपेच र कतिपय अवस्थामा पत्याउने कि नपत्याउने भन्ने खालका रहेको गुनासो आम तहबाट आउनेगरेको छ प्राय सधैँनै । उहाँका पछिल्ला बोलीका दुइ नमूना मात्रै हेरे पुग्लान त्यस्ता बोलीका स्तर कस्ता हुने गरेका भन्ने बुझ्न।

यतिबेला देशमा कोरोना महामारी दोस्रो चरणमा फैलिन थालेको अवस्था छ । यो झनै भयावह हुने तर्फ लागेको भन्ने अनुमान छ विज्ञहरुको । यस्तो बेला नागरिकहरुको सार्वजनिक चहलपहल नहोस वा सीमित होस भन्ने सुझाव विज्ञहरुको मात्र होइन, स्वयम सरकारको पनि रहने गरेको छ । यस्तो बेला प्रधानमन्त्री हजारौंको सङ्ख्या उपस्थित रहेका फुटवलमैदानमा त कहिले कूनै संस्थाका वार्षिक कार्यक्रमको उद्घाटनमा व्यस्त रहनु भएका देखियो । ती कार्यक्रममा बोलिएका कुराले त प्रधानमन्त्री सत्य वोल्दै हुनुहुन्छ कि हसिमजाक भन्ने जिज्ञासा बढाएको हुनुपर्छ ।

कोरोनाको पहिलो महामारी कालमा त्यसको अचूक उपचारभनी उहाँले संसदमा बेसारपानी खान सुझाव दिनुभएको थियो । बेसारपानीले कोरोनालाई के गर्छ भन्ने आफनो ठाउँमा होला तर प्रधानमन्त्रीको यो सुझाव हाँसेर उडाउने विषय बन्यो । तर पनि यो सुझाव धेरैपटक दोहोरिरहेको थियो त्यसबेला । कोरोनाको यो दोस्रो चरणमा प्रधानमन्त्रीको अर्को अचूक ओषधीका रुपमा सुझाव आयो - नूनपानी र अम्वकको पात खाऔं कोराना भगाउँ ।

यो चैत्र २६ को एउटा सार्वजनिक कार्यकममा  प्रधानमन्त्रीका भनाइ जसरी आए त्यसले कोरोनाको अचूक औषधी नै यही हो भन्ने सन्देश फैलिएको हुनुपर्छ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि आफू गम्भीर भएर लागिरहेको स्पष्टीकरण दिदाको सन्दर्भमा नूनपानीको चर्चा भएको हो । कार्यक्रम थियो नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभा जसको उद्घाटन प्रधानमन्त्रीबाट भएको थियो र  त्यसमा भनियो –

एक : ‘भ्याक्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ, मान्छे बिमारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ, निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ, निःशुल्क खोप लगातार चलाइएको छ तरपनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ भने कोभिड जहाँ लागेपनि प्रधानमन्त्रीलाई हमला हुन्छ भने प्रधानमन्त्रीले कोभिडलाई लखेट्नुपरेन बरु प्रधानमन्त्रीले पनि कोभिडलाई लखेट्छ ।’

दुइ : ‘हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने । हामी सावधान हुनुपर्छ अहिले देखि, दुरी कायम गर्ने, मास्क लगाउने । किञ्चित हामी कोभिड-१९ लाई अवसर नदिऔं ।’

तीन : ‘अलि तातोतातो पानी लिदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि चैट । नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ ।’

अर्को प्रसंंग हो विकास निर्माणको र यो कार्यक्रमपनि धेरै ठूलो भिडभाडहुने र दूरीमा रहन नसकिने अन्तगतको उदघाटनकै हो ।  यसमा प्रधानमन्त्रीको दाबी रह्यो- सरकार परिवर्तन गर्न खोज्नेहरु विकास विरोधी हुन भन्ने ।

यो चैत २८ को कुरा हो । नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दा प्रधानमन्त्री बाट विकास निर्माणमा सरकारले उल्लेखनिय काम गरिरहेको दावी आयो । सरकारले राम्रै गरको होला । त्यस्ताकामले देशलाई फाइदा गर्छ नै । त्यसकारण यस्ता कामको सराहना गर्नु पर्छ । तर जव यो विषयमा अति राजनीति गर्न खोजिन्छ, प्रधानमन्त्रीका बोलीमानै सो कुरा झल्कन्छ, अनि यो कुरा पत्याउने ठाउँबाट खस्कदै जाने हुन सक्तछ ।

प्रधानमन्त्रीका यी भनाइलाई पत्याउने हो भने एमालेको प्रधानमन्त्रीले नेतृत्व गरको एउटा समूह अर्थात उहाँ बाहेक बाँकी सबैदल र नेताहरु विकासका घोर विरोधी  हुन । यतिबेलादेशमा सरकार परिवर्तनको कुरा चलिरहेको छ यो भनेको एउटा संवैधानिक प्रकृया हो सर्वसाधारणले बुझने अर्थमा ।  तर प्रधानमन्त्रीबाट त्यसलाई विकाससँग जोडियो  । प्रधानमन्त्रीका भनाइ -
‘सरकार किन परिवर्तन गर्नुपर्‍यो ? पुनर्निर्माणका काम अघि बढिरहेकाले हो ? कि अरु केही कारण छन् ? एक हप्तामा ८ औद्योगिक क्षेत्र तथा एकैदिन ३०९ वटा अस्पताल, १६५ सडक शिलान्यास गरेकोमा सरकार फेर्न खोजिएको हो ? अस्थिरताका लागि संसदको अंकगणित दुरुपयोग गर्न खोज्ने प्रयासहरु सकारात्मक होइनन् । देश हितमा छैनन् । विकासको पक्षमा छैनन्, यस्ता कुराहरुलाई मै ठेगान लगाइहाल्छु । तपाईंहरु आफ्नो काममा लाग्नुहोस् । यो सरकार जान्छ कि भन्ने पीर छैन १८/२० महिनापछि चुनावबाट आउछु  । त्यसपछि अंकगणितलाई वरपर पार्न खोज्ने खालका शकुनिका गोटी पनि फ्याँकिने छन् । गोटी नै फ्याँकिदिएपछि शकुनिले के लडाउँछ ?

प्रधानमन्त्रीले यो ठाउँमा भन्न खोज्नुभको वा बुझाउँन खोज्नुभको हुनुपर्छ - सरकार फेरवदल गर्न खोज्नु विकास निर्माणलाई ध्वस्त पार्नु हो । अनुमान गरौं त कुनै राजनीतिक दल वा नेता देशमा कुनै पनि विकास निर्माको काम हुन नदिने देशलाई ध्वस्त बनाउने भन्ने प्रतिज्ञा गरेर नै राजनीति गरिहेका हुन् त । हो, एक हप्तामा ८ औद्योगिक क्षेत्र तथा एकैदिन ३०९ वटा अस्पताल, १६५ सडक शिलान्यास भएका कुरा विकास निर्माणका उदाहरण हुनसक्तछन् । यो सकारात्मक पक्ष  हो ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update