
काठमाडौं, माघ ३ । पछिल्लो समय घरजग्गा कारोबारमा कमी आँउदा कित्ताकाट भने बढेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा जम्मा ४ लाख मात्रै घरजग्गा किनबेच हुँदा कित्ताकाटको संख्या भने १० लाख पुगेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
बैंकिङ क्षेत्रमा तरलताको अभाव चर्किएपछि समग्र आर्थिक गतिविधिमा असर पुराएको पाइन्छ । केही समय घरजग्गा कारोबारमा पनि कमी आएको थियो तर कित्ताकाटमा भने कमी नआएको देखिन्छ । विभागको तथ्याङ्क अनुरूप असोजमा १ लाख २८ हजार र कात्तिकमा १ लाख १० हजार कित्ताकाट भएकोमा बाँकी हरेक महिना १ लाख ५० हजारदेखि १ लाख ६६ हजारसम्म कित्ताकाट भएका छन् ।
पछिल्लो दुई वर्षमा भने वार्षिक १० देखि १२ लाख कित्ताकाट हुने गरेकोमा यस वर्षको ६ महिनामा सो संख्यामा कित्ताकाट हुनुले गर्दा कित्ताकाटको संख्या अत्याधिक वृद्धि भएको हो । कित्ताकाट वृद्धिदर हेर्ने हो भने यस वर्ष करिब २० लाख कित्ताकाट हुने विभागका अधिकारीहरूको भनाई छ । यो वर्ष कोभिडका कारण कार्यालय बन्द भएको अवस्थामा बाहेक कम्तिमा १६ लाख र बढीमा २० लाख कित्ताकाट हुने देखिन्छ । जुन गत वर्षको भन्दा ४ देखि ८ लाखसम्म बढी हुनेछ ।
यसैबीच विभागको तथ्याङ्कअनुसार पुस महिनामा मात्र ७० हजार एक सय ६८ घरजग्गाको किनबेच भएको छ। चाडपर्वका कारण कात्तिकमा घरजग्गाको किनबेच निकै खस्किएको थियो । तर, विस्तारै मंसिरबाट भने घरजग्गा कारोबारले लय समातेको छ । कात्तिकमा देशभर ५५ हजार घरजग्गा कारोबार भएकोमा मंसिरमा ६९ हजारको हाराहारीमा घरजग्गा किनबेच भएको थियो । त्यस्तै, पुस महिनामा १ लाख ५७ हजार सेवा प्रवाह भई ७० हजार घरजग्गा किनबेच भएको छ ।
देशभर १२६ वटा मालपोत कार्यालय छन् । उक्त मालपोत कार्यालयबाट मासिक ७० हजारको हाराहारीमा घरजग्गाको कारोबार हुँदै आएको छ । पुस महिनामा देशभरका मालपोत कार्यालयबाट ७० हजार घरजग्गा लिखित पारित हुँदा ५५ सय ५३ नामसारी, ४ हजार संशोधन, ३४ हजार ५३ रोक्का, २३ हजार फुकुवा र १ हजार ७ सय ६४ दाखिला खारेज गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार तरलताको अभावको समयमा पनि घरजग्गाको कारोबार उच्च भएको जनाएको छ । पुसमा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ । उक्त मालपोत कार्यालयबाट मात्रै ३२ सय ५० घरजग्गा कारोबार भएको तथ्याङ्कले उल्लेख गरेको छ ।
त्यस्तै, बेलबारी मोरङबाट ३ हजार ३९, भद्रपुर झापाबाट २७ सय ५५, नेपालगञ्ज बाँकेबाट २४ सय ११, जनकपुरधामबाट धनुषाबाट २२ सय ७६, भक्तपुरबाट २० हजार ८५ र लगनखेलबाट १९ सय ६५ घरजग्गाको किनबेच भएको छ ।
उपत्यकामा मात्रै ८ हजार बढी घरजग्गा किनबेच
उपत्यकाका तीनवटा जिल्लाबाट पुस महिनामा ८ हजार बढी घरजग्गा कारोबार भएको छ । जसमा काठमाडौं, भक्तपुर र लगनखेल जिल्लामा रहेको ९ वटा मालपोत कार्यालयबाट ८ हजार ३ सय ८७ घरजग्गाको किनबेच भएको तथ्याङ्कले देखाउँछ ।
उपत्यकामा सबैभन्दा बढी भक्तपुर मालपोत कार्यालयबाट बढी किनबेच भएको छ । उक्त मालपोत कार्यालयबाट २ हजार ८५ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ । त्यसैगरी, लगनखेलबाट १९ सय ६५, कलंकीबाट १६ सय ९९, साँखुबाट ११ सय ६०, चावहिलबाट ८ सय ४९, डिल्लीबजारबाट ३ सय १०, टोखाबाट २८० र गोटिखेल ललितपुरबाट ३९ वटा घरजग्गाको किनबेच भएको छ । तर, मनमैजुबाट भने कुनै पनि घरजग्गाको किनबेच नभएको तथ्याङ्कमा उल्लेख छ ।
साढे ६ अर्ब बढी राजस्व संकलन
पुस महिनाको तुलनामा मंसिर महिनामा घरजग्गा कारोबार कम भए पनि उच्च रुपमा राजस्व संकलन भएको थियो । सो महिना ७ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । तर, पुस महिनामा कारोबार उच्च रहेपनि राजस्व संकलनमा भने गिरावट आएको छ । पुस महिनामा करिब ३५ करोड रुपैयाँले राजस्व संकलन कम भएको छ । पुस महिनामा देशभरका मालपोत कार्यालयबाट विभिन्न सेवा दिएबापत ६ अर्ब ७० करोड ४२ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
मालपोत कार्यालयहरूले सेवा करबापत २४ करोड ४५ लाख, बागमती वापत २२ करोड १८ लाख, रजिष्ट्रेशन दस्तुरबाट ४ अर्ब ११ करोड ८० लाख, पूँजीगत लाभ करबापत १ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ र अन्य विभिन्न विधा सो राजस्व संकलन भएको हो । त्यस्तै, उपत्यकाका ९ वटा मालपोत कार्यालयबाट मात्रै २ अर्ब ९८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।