Kath khabar
नर्भिकले बाँझोपन र स्त्री रोगको निशुल्क शिविर गर्ने

काठमाडौं, फागुन १८। नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिवार वृहत निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।

बरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्याप्रोस्कोपीक सर्जन डा. नुतन शर्मा सहितको टिमले आगामी शनिवार बिहान १० देखी ४ बजेसम्म बिरामीहरूको बाँझोपन तथा स्त्री रोग सम्बन्धमा निशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको छ ।

नेपाली समाजमा बाँझोपनको समस्या विकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई अभिवृद्धि गर्ने उद्देश्यले एकदिने निशुल्क स्वास्थ्य शिविर गर्न लागिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिनुभयो । शिविरमा निशुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै टिभिएसमा २० प्रतिशत छुट तथा ल्याब परीक्षणमा १० प्रतिशत छुटको अफर समेत ल्याइएको सिइओ मिश्राले बताउनुभयो ।

शिविरमा सहभागी भएका बिरामीको परीक्षणमा शल्यक्रिया गर्नुपर्ने भए स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपी सर्जरीमा बिरामीलाई अप्रेसन शुल्कको २० प्रतिशतसम्म छुट दिइने अस्पतालले जनाएको छ । नर्भिक अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष पर्व, उत्सव तथा दिनहरूमा स्वास्थ्य जाँच लगायतका सेवाहरूमा छुटको अफर यसअघिदेखि नै सार्वजनिक गर्दै आएको छ ।

यस्तै नर्भिकले विगत लामो समयदेखि प्रत्येक शनिवार कुनै विशेषज्ञ चिकित्सक नेतृत्वको टिमलाई परिचालन गरी निःशुल्क ओपिडी अभियान समेत संचालन गर्दे आएको छ । निःशुल्क ओपिडी पछिल्लो समय सर्वसाधारणमा निकै लोकप्रिय रहेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update