Kath Khabar
‘एडप्ट एन एनिमल’ मा युवाको आकर्षण

 

        काठमाडौं, वैशाख १०। जावलाखेलस्थित सदर चिडियाखानामा अवलोकनका लागि राखिएका जनावरप्रति सर्वसाधारण पनि जिम्मेवार होऊन् भनी एक वर्षअघि सुरु गरिएको ‘एडप्ट एन एनिमल’ कार्यक्रम प्रभावकारी भएको छ ।

कोरोना महामारीको समयमा जनावरलाई लालनपालनमा समस्या भएको र सर्वसाधारणलाई पनि चिडियाखानामा राखिएको जनावरप्रति जिम्मेवार बनाउने भन्दै एक वर्षअघि अघिल्लो चैतदेखि यो कार्यक्रम सुरु गरेको हो । हालसम्मा ९२ वटा जनावरले अभिभाकत्व प्राप्त गरेका छन् ।

अहिले यो कार्यक्रमअन्तर्गत ११४ जना जोडिएका छन् भने ४० लाखभन्दा बढी रकम असुल भएको छ । यस कार्यक्रमको सुरुआत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको हो । उहाँले उक्त समयमा रु एक लाख दिएर गैँडाको संरक्षक बन्नुभएको थियो ।

चिडियाखानाका सूचना अधिकारी लीना चालिसेले सङ्कलित रकमले जनावरलाई खुवाउनका लागि ठूलो सहयोग नपुगे पनि अभिभावकत्वप्राप्त गर्ने बताउनुहुन्छ । वार्षिकरूपमा यहाँका जनावरको लालनपालनका लागि रु तीन लाख लाग्ने चालिसेको भनाइ छ । समग्रमा यस कार्यक्रमका लागि युवावर्ग बढी आकर्षित भएको बताइएको छ ।

यसरी एडप्ट एन एनिमल कार्यक्रमका लागि न्यूनतम रु पाँच हजारदेखि सहयोग गरेका छन् । यसका लागि केही निश्चित समुदाय र वर्गका सर्वसाधारणलाई मात्र यकिन गरिएको छैन, इच्छा भएका जो-कोहीले कार्यक्रममा सहभागी हुन पाउने छन् । शुक्रबारदेखि सर्वसाधारणका लागि अवलोकनका लागि राखिएको चिम्पाञ्जीका लागि पनि राजी राणा ट्रष्टकी राजी राणाले वार्षिक रु १० लाख उपलब्ध गराएर अभिभावकत्व लिनुभएको छ । उक्त रकम प्रत्येक वर्ष प्राप्त हुन्छ ।

अबको आकर्षण चिम्पाञ्जी
नयाँ वर्षको सुरुआतसँगै सदर चिडियाखानाले सर्वसाधारणका लागि पहिलोपटक एक जोडी चिम्पाञ्जी अवलोकनकक्षमा राखेको छ । चिडियाखानाले शुक्रबादेखि चम्पा (पोथी) र चिम्पु (भाले) नाम गरेका एक जोडी चिम्पाञ्जी अवलोकनका लागि सार्वजनिक गरेको हो । यो एक दुर्लभ प्रजातिको वन्यजन्तु भएकाले यसलाई अबको आकर्षणका रूपमा लिइएको छ ।

चार वर्षअघि अवैधरूपमा ल्याइएका चिम्पाञ्जीलाई विसं २०७४ असोजमा केन्द्रीय अनुसन्धान ब्यूरोले उद्धार गरी सदर चिडियाखानालाई दिएको हो । मुख्यतयाः अफ्रिकामा पाइने यस जनावरको प्राकृतिक बासस्थान नदीतटीय, घाँसे मैदान, वन तथा झाँडी हो । यसको औसत तौल ४० देखि ६० केजीसम्म रहेको छ ।

यसले फलफूल, रुखका बोक्रा, बीउ र फूल खाने गर्छ भने यसको गर्भाधारण अवधि आठ महिना हो भने आयु ४५ वर्ष रहेको पाइएको छ । चिडियाखानाका प्रमुख व्यवस्थापक रचना शाहले चिम्पाञ्जी अवलोकनका लागि राखेसँगै यहाँको आकर्षण बढेको भन्दै अवलोकनकर्ता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

महामारीपछि बढ्यो शुल्क
व्यवस्थापन कार्यका लागि समस्या परेको भन्दै चिडियाखाना व्यवस्थापनले कोरोना महामारीपछि प्रवेश शुल्क वृद्धि गरेको छ । हाल विदेशीका लागि रु एक हजार, सार्क राष्ट्रका पाहुनाका लागि रु ५००, नेपालीलाई रु २०० र नेपाली विद्यार्थी रु १३५ ज्येष्ठ नागरिकका लागि रु १०० शुल्क निर्धारण गरिएको छ । वार्षिक रु ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ देखि १६ करोडसम्मको आर्थिक कारोबार हुने गरेको छ ।

हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जनावर रहेका छन् । जहाँ मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा रहेका छन् । ती प्रजातिमध्ये ३३ स्थनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखिएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गर्नुभएको थियो । विसं २०११ बाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो ।
 

(रासस)

 

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update