Kath Khabar

काठमाडौं, जेठ ५ । विभाजनको चरम अवस्थामा खडा भएको राष्ट्रियसभा उपनिर्वाचनका एमालेका दुई उम्मेदवारको उपनिर्वाचनको भिडन्त यस्तो बेला आम चासोको विषय बनेको छ ।

दुई पक्ष मिलनका लागि यता वार्तासमिति गठन भएपछि बजारमा एउटा जानकारी आयो- 'नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई जिताउने प्रतिबद्धता जनाउनु भएको भन्ने ।' गृहमन्त्री थापा बागमती प्रदेशमा हुने राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले (ओली पक्ष) का तर्फबाट उम्मेदवार बनिनुुभएको थियो । 

तर, बरिष्ठ नेता नेपालका तर्फबाट यही राष्ट्रियसभाको उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाइएको थियो । देवकोटाको उम्मेदवारी नेपाल सहित कांग्रेस र माओवादीको साझा हो । एमालेका यी दुइपक्षबीच चरम विवाद रहेको उम्मेदवारी र मिलनको पनि चरममा पुगेका बेला मतदान हुन लागेकाले पनि यो निर्वाचनको परिणाम प्रति आम जिज्ञासा बेढको हुनुपर्छ । माओवादी र काँग्रेसले अरु उम्मेदवार दिएका छैनन् । यदि नेपाल पक्षले कुरा फेरे ठूलो धोका हुने भन्ने उनिहरुको ठहर छ ।

यही बीचमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को सचिवालय बाट एउटा प्रेसविज्ञेप्ति जारी भयो । त्यसमा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई जिताउने प्रतिबद्धता जनाउनु भएको भन्ने जानकारी  थियो । 

चुनावको दुइदिन अघि भएको दुइनेता बीच (नेपाल-बादल) को भेटमा वरिष्ठ नेता नेपाललाई कोटेश्वरस्थित निवासमा पुगेर थापाले सहयोगका लागि आग्रह गरेका र थापाको आग्रहलाई जवाफमा नेपालले पूर्ण सहयोग गर्ने वचन दिएका भन्ने विवरण सार्वजनिक भयो । गृहमन्त्री थापाको सचिवालयले विज्ञप्ती नै निकालेर भन्यो -‘पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनको विषयमा केन्द्रित थियो, भेटमा नेता नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो । भेट सकारात्मक रहेको उहाँको भनाइ छ ।’

तर, गृहमन्त्रीको सचिवालयको यो दावी गलत रहेछ । गृहमन्त्रालयबाट यस्तो विज्ञप्ती जारी भए लगत्तै नेता नेपालको सचिवालयका तर्फबाट प्रेस नोट जारी भयो जसमा भनिएको छ -‘आज (मंगलवार) कमरेड रामबहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरूसहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो । यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौ भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।’

एकै दिन आएका र एउटै विषयका यी दुइवक्तव्यमा कुनै एकजनाले झुठो बोलेका अवस्था छ । यो झुठले परिणाममा कस्तो प्रभाव पार्ला ? यस्तो छ बागमती प्रदेशको गणित । 

राष्ट्रिय सभाको निर्वाचनको मतदातामा प्रदेशका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुृख छन् भने बागमतीमा अरु दलको खासै वर्चश्व छैन । निर्णायक एमाले नै हो । अरु भनेका सहायक मात्रै जस्ता देखिन्छन् मतदाताको गणितमा । एमालेसँग भएको गणित एकठाउँमा प्रकट भयो भने एमालेकै उम्मेदवार सहजै चुनाव जित्ने अवस्था बन्छ । तर त्यो अवस्था छैन । गृहमन्त्री बादल ओलीका उम्मेदवार हो भने कांग्रेस-माओवादी समर्थनमा उम्मेद्वावार बनेका देवकोटा वरिष्ठ नेता झलनाथ नेपाल पक्षका । यो पक्षको आग्रहमा नै कांग्रेस-माओवादीले आफनो उम्मेदवारी नदिएर देवकोटालाई नै समर्थन गरेका अवस्था छ । 

राष्ट्रिय सभा निर्वाचनमा एक प्रदेश सांसदको मतभार ४८ हुन्छ भने स्थानीय तहका प्रमुख र उपप्रमुकको समान १८-१८ मतभार हुन्छ । यो मतभारमा सबैभन्दा बलियो एमाले नै । एमालेको मतभार ५ हजार १ सय ३० । कांग्रेसको २ हजार २ सय ८०, माओवादी केन्द्रको १ हजार ६ सय ९८ को संख्या हो । 

यो अवस्थामा निर्णायक मत भनेको एमाले भित्रको  खनाल-नेपाल पक्षको देखिन्छ । यो पक्षको दाविमा आफूहरूसँग १ हजार ७ सय ४ मतभार रहेको छ । यता एमालेको ५ हजारबाट करिव २ हजार घटने र विपक्षीको करिव ४ हजार थपिँदा एमालेको यो एकमुष्ट बहुमत एकठाउँमा परेको अवस्थामा बाहेक परिणाम अन्यथा हुने संकेतहरु प्रकट हुँदैछन् ।

गृहमन्त्री रामबहादुर थापा बादल दोहिरिएका उम्मेदवार हुनुहुन्छ भने खिमलाल देवकोटा पहिलो पटक । बादलसंग सरकारको जसअपजस साथै छ भने देवकोटा त्यो खेमा भित्र पीडितका पक्षको मानिने अवस्था देखिन्छ । प्रधानमन्त्रीले हालै विश्वासको मत लिँदा एक तिहाइको संख्या मात्रै पक्षमा आयो । त्यसबेला विपक्षी मत अलिकति पनि थपिएन भने एमालेकै ठूलोसंख्या, करिव संसदको चौथो ठूलोदल जतिकै अनुपस्थित रह्यो । राष्ट्रियसभाको यो चुनावको मतदाता पनि करिव करिव त्यस्तै हुन् । प्रतिनिधिसभामा विश्वासको मत लिइँदा ह्वीप जारी भएको थियो । राष्ट्रिय सभाको यो चुनावमा त्यस्तो हुँदैन । कसको मत कता गयो भन्ने भेउ पाउन सम्भव हुँदैन । 
        


 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update