Kath Khabar

काठमाडौं, जेठ ६ । वैशाखको अन्तिममा आफुमाथि संसदको विश्वास छ भन्ने प्रस्तावका विशेष अधिवेशन नै आह्वान भयो । नियमित अधिवेशनमा सम्पन्न हुने कामका लागि विशेष अधिवेशन नै बोलाइनुको अर्थ पनि बिशेष नै लाग्यो । थियो पनि त्यस्तै । 

यो प्रस्तावमा आफ्नै सांसदले साथ दिएनन्, ह्वीपको पनि उल्लघंन भयो । तर प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपीशर्मा ओलीको पद यसले झन सुरक्षित गरायो । कारण थियो मधेश केन्द्रित दल । ओलीले आफुभन्दा निकै सानो र त्यसमा पनि फरक मत रहेको यही मधेश केन्द्रित दलका नेताहरुबाट उहाँले प्रधानमन्त्रीको पद पुरस्कार पाउनु भयो । त्यसपछि उहाँ त्यसलाई स्थायित्व दिन फेरी त्यही दलबाट विश्वास पाउने तानाबुनामा लागेका अवस्था छ जो स्वाभाविक पनि हो । 

यता यस्तो अभ्यास चलिरहँदा उता मधेश केन्द्रित दलका नेताहरुको आफुलाइ नै मेटाएर अरु कसैलाई सजिलैसंग सत्तारुढ गराउने यस्तो कामकुरा किन र कसरी भयो भन्ने प्रश्न मधेशमै उठ्यो । कारण थियो मधेशका नेताहरुले आफ्नो हातमा आउन लागेको देशको नेतृत्व गर्ने ऐतिहासिक अवसर छाड्नु र अरुलाइ प्रधानमन्त्री बनाउन जे गर्दा वा भनिँदा सम्भव हुन्छ त्यो गरिनु । 

यसरी पद प्राप्त गर्नु भएका प्रधानमन्त्री ओलीले फेरी विश्वासको मत लिने क्रममा लागिरहेका बेला जसपाका एक नेता (सुमन, रेडियो नेपालको अन्तक्रिया कार्यक्रम जेठ ६) ले खुलासा गर्नु भयो - त्यसबेला जसपाले नेतृत्व गरोस् भनी प्रस्ताव भएकै हो । प्रधानमन्त्री सहित विपक्षी दलका नेताहरु पौडेल, देउवा, प्रचण्ड आदिले यस्तो भन्नु भएकै हो ।

यसले नै थप बुझाउँछ मधेशबाट पहिलोपटक यो देशमा प्रधानमन्त्रीको अफर आएको थियो । तर प्रधानमन्त्री ओलीका पक्षमा तटस्थ बसेर विपक्षी मोर्चाको बहुमत पुग्न नदिन निकै नै कठोर प्रकारको द्वारपालको भूमिका निर्वाह भयो यो दलको एउटा पक्षबाट । यसमा खासगरी नेतृत्व लिनोस भनिएकै मधेश केन्द्रित दल भनी चिनिने जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुरले यसलाई ठुकार्नु भयो । विपक्षी मोर्चाबाट प्रस्तावित प्रधानमन्त्री हुनुहुन्थ्यो ठाकुर । शर्त थियो ओलीको विकल्प ।

एमालेका २८ जनाले अनुपस्थित जनाएर प्रधानमन्त्री ओलीले माग्नुभएको विश्वासको मत नदिएको, विपक्षी मोर्चामा बहुमतको अर्को सरकारका लागि कुनैपनि रत्तिभर शंका र द्विविधा नरहेको अवस्थामा वैकल्पिक सरकार नबन्ने कतै गुञ्जायसै थिएन । प्रमुख प्रतिपक्षीदलका सभापतिको निवासमा भएको छलफलमा फेरी पनि प्रस्ताव आयो - विपक्षबाट सरकार बनाऔं भनेर । चर्चामा थियो त प्रधानमन्त्रीका उम्मेदवार महन्थ ठाकुर नै हुनुहुन्थ्यो भन्ने ।   

यो चरणमा मधेशका लागि प्रधानमन्त्री पहिलोजस्तो कतिखेर बन्यो भने अरुले ठाकुर ठाकुर भनिरहे भने ठाकुरले चाहिँ ओलीओली । आफु प्रधानमन्त्री हुँदा ओलीको प्रधानमन्त्रीत्व जाने पक्का थियो । ठाकुरले आफु मेटिएर पनि त्यसो हुन दिनुभएन । यतिबेला मधेसमा आम तहमा उठेको प्रश्न नै यही हो- यस्तो किन भयो ? ओलीबाट मधेशका सबै माग पुरा हुन्छन् भन्ने तर्क छ यो पक्षको । फेरी पनि प्रश्न निरुत्तरित नै कहाँ नेर रह्यो भने आफ्ना माग पुरा गर्ने ठाउँमा आफै पुगिन्छ भने त्यो अवसर किन उपयोग नगर्ने ? 

मधेशका नेताहरु अवसर गुमेपछि आफ्नो हैसियत सम्झिने गरेका कारण मधेश सधैँ पछि परेको भन्नेपनि यतिबेला आरोप लाग्न थालेको छ । जव आफ्नो नेतृत्वमा सरकार बनाउने निर्विकल्प जस्तै अवसर चुकेपछि लगत्तै यो दलबाट निर्णय भयो-मौका पाए जसपाकै नेतृत्वमा सरकार बनाउने भन्ने । 

यो दलकै सँयोगबाट प्रधानमन्त्री हुनपाउनु भएका ओलीले शपथ खानुभएको लगत्तै पछि जनता समाजवादी पार्टी नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भद्र सम्झौता भयो केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने र प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने र  बरु आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने ।

तर यो निर्णयको अर्थ अब नरहनपनि सक्तछ । ओलीको यो नेतृत्वले विश्वासको मत पाएन भने संसद नै नरहनपनि सक्तछ जसले अर्को सरकार बनाओस् । संविधान विपरीत हनेगरी संसद् विघटन् गरिएका विगतका उदाहरण छन् र राष्ट्राध्यक्षले पनि आफु बदनाम भएर पनि कार्यकारीलाई सघाएका पनि ।  

पछिल्लो समय यो दलका दुई अध्यक्षद्वारा जारी विज्ञप्तिमा पार्टी प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने उल्लेख छ । राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा नेतृत्व लिन पछि नहट्न, प्रधानमन्त्री ओलीले फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको र विश्वासको मत सम्बन्धी प्रस्तावलाई असफल गराउने कुरा यो विज्ञप्तिमा परेका छन् । तर पहिले जस्तै यो बीचमा संसद अपहति भयो भने ? उत्तर यो दलका नेताहरुसंग पनि नहोला । 

यो ठाउँमा मधेशका प्रतिनिधिपात्रका प्रतिकृया सान्दर्भिक हुन्छ । मधेस राजनीतिका विश्लेषक एवं वरिष्ठ पत्रकार चन्द्रकिशोरका अनुसार लामो समयदेखि राजनीतिमा उकुस-मुकुस थियो, त्यसले कतै न कतै झट्का माथ्यो, जसपालाई मार्यो । पूर्वसमाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण हुनुपर्छ भन्ने मधेशको माग थियो तर जुन परिस्थितिमा एकीकरण भयो, त्यो अस्वाभाविक भएकाले त्यसको असर अहिले देखिरहेको छ जसपाले अझै पनि आफ्नो धरातल र आफ्नो पहिचान बनाउन सकेन, जहिले पनि अर्काकै लागि लडेर समाप्त भयो ।

मधेश मामिलाका जानकार एवं पूर्वराजदूत विजयकान्त कर्ण ओलीलाई पुनः प्रधानमन्त्रीमा फर्काउनु नेपाली राजनीतिमा धेरै ठूलो भूल भयो । संसदमा जसरी ओली असफल हुनु भएको थियो, त्यसलाई दलहरुले निरन्तरता दिनुपर्ने थियो । तर, त्यसमा चुकेको अवस्था छ । जसपाका अध्यक्ष महन्थ ठाकुरबाट ठूलो भुल भएको छ । 

महन्थजीलाई लाग्दैछ कि प्रधानमन्त्री ओलीले हाम्रा सबै माग पूरा गरिदिनुहुन्छ । तर, मलाई त्यस्तो लाग्दैन, केही मुद्दाहरु फिर्ता भए, तर रेशम चौधरीको रिहाइ, संविधान संशोधन, नागरिकता लगायतका माग पूरा गर्न ओलीले सक्नुहुन्न र उहाँले गर्न पनि चाहनुभएको छैन । यो खेलमा सबैभन्दा बढी एमालेलाई फाइदा भएको छ । त्यसपछि काँग्रेस र माओवादी केन्द्रलाई । तर, जसपा समस्यामा परेको छ ।

राजनीतिक विश्लेषक तुलानारायण साहका दृष्टीमा यो खेलका कारण जसपा विभाजनको अवस्थामा पुगेको छ । सबैभन्दा बढी विवाद एमालेमा थियो, माधव नेपाल पक्षका सांसदहरु राजीनामा दिने अवस्थामा पुगिसकेका थिए, अर्को दल दर्ता गराउने कुरा पनि आइसकेको थियो । तर, एमाले एकीकृत भयो, जसपामा विभाजन आयो । नेपालको पछिल्लो राजनीतिमा जे-जस्तो भयो, त्यो अन्तराष्ट्रिय चासोका कारण भएको कुरा कसैबाट लुकेको छैन । 


 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update