Kath khabar
एक्सनमा उत्रियो राष्ट्र बैंक : एकै पटक नौ वटा वाणिज्य बैंकहरू परे कारवाहीमा


                  काठमाडौं, वैशाख ८ । नेपाल राष्ट्र बैंक एक्सनमा उत्रिंदा एकै पटक नौं वटा वाणिज्य बैंकहरु कारवाहीमा परेका छन् । राष्ट्र बैंकका अनुसार निर्देशन विपरित काम गरेका आधारमा ति बैंकहरुलाई कारवाही गरिएको हो ।

कारवाहीमा पर्नेमा तत्कालीन नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी), तत्कालीन कुमारी बैंक अर्थात हालको कुमारी बैंक लिमिटेड, तत्कालीन सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंकसँग प्राप्ति भएको), राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंक रहेका छन् ।

कारवाही अन्तर्गत तत्कालीन एनसीसी बैंकले सहुलियतपूर्ण कर्जा सम्बन्धी एकीकृत कार्यबिधी २०७५ को २६ (क) विपरित एकै समुहलाई एक भन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको र कतिपय कर्जाहरुमा राष्ट्र बैंकको निर्देशन विपरित हुने गरी कर्जाको प्रिमियम दरमा परिवर्तन गरेको हुँदा राष्ट्र बैंकको जारी निर्देशनको उलङ्घन गरेको देखिएकोले तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको छ ।  

तत्कालीन कुमारी बैंक (हालको कुमारी बैंक लिमिटेड) लाई पनि अन्य शिर्षकको कारवाही अन्तर्गततत्कालीन कुमारी बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्दती निक्षेपमा प्रकाशित व्याजदर भन्दा बढी प्रदान गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरेको हुँदा उक्त बैंकबाट जारी निर्देशनको उल्लंघन गरेको देखिएकोले तत्कालीन कुमारी बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । तत्कालीन एनसीसी बैंकलाई पुन दोस्रो पटक पनि कारवाही गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस अन्तर्गत उक्त बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतले आफ्नो अख्तियारी भन्दा बाहिर गई कर्जा स्वीकृत गरेकाले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२) खण्ड (ग) बमोजिम पाँच लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

राष्ट्रिय वाणिज्य बैंकलाई पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन निर्देशनको उलङ्घन गरेकाले १० लाख रुपैयाँ जरिवाना गरिएको छ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकले पनि कर्जा तथा श्रोत परिचालन अनुपात शीर्षक अन्तर्गत कारवाही गरिएको छ । यस अन्तर्गत २०७९ साउन र भदौ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकाले दुई करोड ८४ लाख सात सय ३२ रुपैयाँ जरिवाना तिराइएको राष्ट्र बैंकको भनाई छ ।

नेपाल बैंकले पनि कर्जा तथा श्रोत परिचालन अनुपात शीर्षक अन्तर्गत कारवाही गरिएको छ । यस अन्तर्गत २०७९ साउन महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकाले १८ लाख ५९ हजार सात सय ५२ रुपैयाँ जरिवाना तिराइएको छ भने नबिल बैंकलाई पनि सोही शीर्षकको कारवाही अन्तर्गत२०७९ साउन, भदौ र असोज महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकाले छ करोड ४६ लाख ४५ हजार ३२ रुपैयाँ जरिवाना तिराइएको छ ।  

ग्लोबल आईएमई बैंकलाई पनि कर्जा तथा श्रोत परिचालन अनुपात शीर्षक अन्तर्गतकारवाही गरिएको छ । यस अन्तर्गत २०७९ भदौ र असोज महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकाले चार करोड ४२ लाख ४६ हजार आठ सय ३२ रुपैयाँ जरिवाना तिराइएको राष्ट्र बैंकको भनाई छ । कृषि विकास बैंकलाई पनि सोही शीर्षक अन्तर्गत २०७९ भदौ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकाले ७१ लाख ७२ हजार नौं सय ५२ रुपैयाँ जरिवाना तिराइएको छ ।  

हिमालयन बैंकलाई २०७९ भदौ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकाले ७१ लाख ७२ हजार नौ सय ५९ रुपैयाँ जरिवाना तिराइएको राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update