Kath Khabar
धितोपत्र बोर्डले थाल्यो अस्वाभाविक रुपमा बढेका कम्पनी माथि छानबीन, कुन कुन परे ?

काठमाडौं, जेठ ३१ । धितोपत्र बोर्डले शेयरबजारमा अस्वाभाविक रुपमा भाउ बढेका कम्पनीहरुको बारेमा छानवीन गर्न थालेको छ । फ्रेस भ्यालुभन्दा नेटवर्थ कम भएका, मूल्य आम्दानी अनुपात पीइ १ सयभन्दा बढि भएका र प्रतिकित्ता शेयर आम्दानी ऋणात्मक रहेका कम्पनीको दिनप्रतिदिन उचालिएको शेयर मूल्य शंकास्पद रहेको भन्दै बोर्डले त्यस्ता कम्पनी माथि छानबीन थालेको हो ।

स्रोतका अनुसार बोर्डले अस्वाभाविक रुपमा मूल्य बढाइएको आशंकामा ५६ ओटा कम्पनीको शेयर कारोबारमाथि छानबिन सुरु गरेको हो । बोर्डले सर्कुलर ट्रेडिङको आशंकामा जनउत्थान लघुवित्त, पूर्वाधार विकास बैंक, अजोड इन्स्योरेन्स, अपि र राधी जलविद्युत लगायतका कम्पनीको छानबिन थालेको  छ।

छानबिन थालिएका अधिकांश जलविद्युत कम्पनी छन् । बोर्डको छानबिनको सूचिमा चन्द्रागिरी हिल्स पनि रहेको बुझिाएको छ । बोर्डले जेठ २५ गते प्रेस विज्ञप्ति जारी गरी शेयर कर्नरिङ र सर्कुलर ट्रेडिङको गुनासा आएकाले लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गरिसकेको छ।

महामारीका कारण अर्थतन्त्र शिथिल भएर कम्पनीहरुको नाफा घट्ने स्थितीमा सेयरबजारमा भने उछाल आएको छ । लाभांश दिएको इतिहास नै नभएको र आगामी दिनमा पनि प्रतिफल दिन नसक्ने कम्पनीको पनि बजारमा अस्वाभाविक मूल्य बढेको  देखिन्छ ।

गत वर्षको साउन ६ गते खानी खोला जलविद्युत आयोजनाको मूल्य सेयरबजारमा प्रतिकिा ४५ रुपैयाँमा कारोबार भएको थियो । जसको मूल्य बिहिबार २ सय ५० रुपैयाँ कायम भएको थियो । अर्थात एक वर्षको मूल्यमा यसको मूल्य साढे चार गुणाले बढेको छ । यसले अहिलेसम्म आफ्ना लगानीकर्तालाई लाभांस दिएको छैन । ४६ करोडको यो कम्पनी अहिले ६६ करोड घाटामा छ । तर पनि लगानीकर्ताको आकर्षण यसमा कमि  छैन ।

स्थापनाकालदेखि अहिलेसम्म लाभांस दिन नसकेको नेशनल हाइड्रोपावरको मूल्य अहिले २ सय ८१ रुपैयाँ पुगेको छ । जसको गत वर्षको साउनमा प्रतिकित्ता मूल्य ४९ रुपैयाँ थियो । लाभांस दिने कुनै संभावना नरहेको भएपनि यसको मूल्य पौने पाँच गुणा बढेको छ

कम्पनीबाट प्रतिफल पाउने  संंभावना नहुँदा पनि यि दुई कम्पनीको मात्रै हैन, आँखु खोला, दिब्यश्वरी र जोशी हाइड्रोपावरको  पनि मूल्य अस्वाभाविक रुपमा बढेको छ । प्रवद्र्धकले मनपरी खर्च गरेर आयोजनाको लागत बढाई सर्वसाधारणको लगानी जोखिममा पारेका यि आयोजनामा लगानीकर्ता अहिले कम्पनीको वित्तीय रिपोर्ट बिश्लेषण नगरी नै होमिएका छन्, यसले भोली लगानीकर्ता डुब्ने जोखिम देखिन्छ ।  

अहिले बिशाल बजार कम्पनीको मूल्य ६ हजार ६ सय २३ रुपैयाँ पुगेको छ । जसले अहिलेसम्म लगानीकर्तालाई कुनै लाभांश नै दिएको छैन । ५ करोड चुक्ता पुँजीको यो कम्पनीको मूल्य गत वर्षको साउनमा प्रतिकित्ता १५ सय ५० रुपैया थियो । अर्थात लाभांश दिने कुनै पनि संकेतसम्म नहुँदा यो कम्पनीको मूल्य साढे तीन गुणाले बढेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update