Kath khabar
चञ्चलकलीले ५० दिनपछि काँटिएकै सुँडबाट दाना खान थाल्यो

 

                   चितवन, जेठ १० । गत चैत २१ गते राति अज्ञात समूहको आक्रमणबाट सुँड काटिएको चञ्चलकली हात्तीले ५० दिनपछि आफ्नो दाना आफैँ खान सुरु गरेको छ । चितवनको सौराहामा पालिएको उक्त चञ्चलकलीलाई माउतेले दाना खुवाउँदै आएका थिए ।

सुँड काटिएको एक महिनापछि पानी आफैँ खान सुरु गरेको ४५ वर्षीया पोथी हात्तीले आज बिहानदेखि दाना आफैँ खान सुरु गरेको हात्तीधनी दीपेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार प्राविधिकहरूले अब हात्तीलाई काममा फर्काउन सकिने जनाएका छन् । उनले भने, 'हात्तीलाई काममा फर्काउन सकिने प्राविधिकको सल्लाह भए पनि अझै केही दिन आराम गराउने योजनामा छु।'

हात्तीले अहिले पानीले आफैँ नुहाउने, आफ्नो शरीरलाई चाहिने बालुवा आफैँ छर्कने, जङ्गलमा गएर हाँगा लुछ्ने, पात टिप्ने लगायतका काम गर्न थालेको उनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक र माउतेको अथक प्रयासले हात्ती अहिलेको अवस्थामा आउन सकेको हो ।

उनले भने, 'हात्तीको सुँडले पैसाको सिक्का टिप्न भने अहिले पनि सकेको छैन ।' हात्तीको उपचारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु प्राविधिक किरण रिजालसहितको टोली खटिएको छ । हात्तीलाई आक्रमण गर्ने पक्राउ पर्न सकेका छैनन् ।

हात्तीलाई यो ढङ्गको आक्रमण पहिलो पटक भएको हो । रातको समयमा अज्ञात व्यक्तिले हात्तीको सुँड काटेर भागेको बताइएको छ। सुँड काट्नेको खोजी चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update