
काठमाडौं, असार १ । नेपाल धितोपत्र बोर्डले बजारमा हल्ला वा लहलहैमा लागेर लगानी गर्नु अत्यन्त जोखिमयुक्त हुने बताएको छ । बोर्डले आज मंगलबार बिज्ञप्ती जारी गर्दे शेयर बजारमा निकै सुुझबुझकासाथ कारोबार गर्न आग्रह गरेको छ । धितोपत्र बजार जोखिम मुक्त नरहेको भन्दै बजारमा लगानी गर्ने लगानीकर्ताले जोखिमको आँकलन गरेर मात्र लगानी गर्नुुपर्छ, बोर्डले भनेको छ ।
बजारको सर्वमान्य सिद्धान्त अनुसार धितोपत्र बजार संधै बढी रहने मात्र नभई समय क्रममा घटबढ भइ रहने बजार हो । यस बजारमा हल्ला वा लहलहैमा लागेर लगानी गर्नु अत्यन्त जोखिमयुक्त हुन्छ, बोर्डले बिज्ञप्ती जारी गर्दे भएको छ । कुनै पनि धितोपत्रमा लगानी गर्नुपूर्व उक्त कम्पनीको वित्तीय अवस्था र विविध परिसूचक बारे बढी भन्दा बढी जानकारी प्राप्त गरी आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता मूल्याँकन गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नु उपयुक्त हुुने छ, बोर्डले बिज्ञप्ती मार्फत भनेको छ ।
लगानीकर्ताको हित संरक्षणका लागि बोर्ड सदैव तत्पर रहेको छ । लगानीकर्ताको हितका लागि बोर्डले समय समयमा सूचना तथा जानकारी प्रकाशन गर्नुका साथै बजारप्रति सचेत गराउने कार्य समेत गर्दै आएको छ । लगानीकर्ताको हित संरक्षणका लागि बोर्डले बजारका हरेका क्रियाकलापलाई नजिकबाट अध्ययन गर्ने गरेको र बजार सहभागीको जोखिमको स्तरलाई विश्लेषण गर्ने कार्य समेत गर्दै आएको छ । यसै सन्दर्भमा धितोपत्र बजारमा सूचिकृत रहेका हरेका संगठित संस्थाको सम्बन्धमा बोर्डले निरन्तर रुपमा अध्ययन र अनुगमन गर्दै आएको छ ।
बोर्डबाट गरिएको अध्ययन र अनुगमनका क्रममा कतिपय सूचिकृत कम्पनीहरुले समयमा सूचना जानकारी प्रवाह नगराएकोमा त्यस्ता कम्पनीहरुको कारोबार स्थगन हुने व्यवस्था समेत गरेको जानकारी दिएको छ । विगतको एक वर्ष अवधिमा सूचिकृत संगठित संस्थाहरुको मूल्य बृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले बृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याँकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचिकृत संगठित संस्थाहरु छनौट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको थियो ।
साथै उक्त सूचिकृत संगठित संस्थाहरुको कारोवारमा भित्री कारोवार, सर्कुलर कारोवार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाईएको व्यहोरा बोर्ड जानकारी गराउन चाहन्छ । बोर्डबाट गरिएको उक्त प्रारम्भिक अध्ययनबाट सम्बन्धित संगठित संस्थाको सम्बन्धमा लगानीकर्ताले समेत आवश्यक जानकारी प्राप्त गरी लगानी सम्बन्धी निर्णय गर्न उचित हुने देखिएकोले हाललाई त्यस्ता जोखिमयुक्त कम्पनीहरुको परिसूचक, विवरण लगानीकर्ताहरुको जानकारीका लागि यसै विज्ञप्ती साथ प्रकाशित गरिएको हो ।
धितोपत्र बजारको जोखिमलाई मनन गरी लगानी गर्नका लागि बोर्डबाट भएको अध्ययनले लगानीकर्तालाई लगानी सम्बन्धी निर्णय गर्न सहयोग पुगोस भन्ने आशयले प्रकाशित यस विवरणलाई समेत दृष्टिगत गरी लगानी सम्बन्धी निर्णय समेत बोर्डले आग्रह गरेको छ । धितोपत्र बजारले प्रविधिमा फड्को मार्दै गर्दा लगानीकर्ताले घरमा बसी कारोबार गर्न पाएको सर्वविदितै छ । अहिलेको प्रतिकूल अवस्थामा समेत धितोपत्र बजारमा कारोबार सुचारु रहेकोले लगानीकर्ताहरुले ज्यादै उत्साहका साथ धितोपत्र कारोबार गरिरहेकोमा बोर्ड सम्पूर्ण लगानीकर्ताहरुलाई धन्यबाद दिन चाहन्छ ।
अहिलेको अवस्था हेर्दा लगानीकर्ताहरुले धितोपत्र बजारलाई गरेको विश्वासले गर्दा कारोबार रकममा ऐतिहासिक रेकर्ड स्थापना कायम भई करीव २० अर्ब नजिक पुगेको छ । यसरी कारोबार रकममा रेकर्ड कायम हुन गएकोमा बोर्डले यसलाई सकारात्मक रुपमा लिएको छ र बजारका सम्पूर्ण सहभागीहरु धन्यबादका पात्र हुनुहुन्छ, बोर्डले भनेको छ ।
धितोपत्र बजारको विकास र स्थायित्वले देशको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान दिने भएकोले यसको विकासका लागि सम्पूर्ण सरोकारवालाहरुबाट आवश्यक सहयोग प्राप्त हुने कुरामा बोर्ड विश्वस्त रहेको छ । धितोपत्र बजारमा लगानीकर्ताको विश्वास कायम रहेमा मात्र यसको विकास र स्थायित्व कायम हुने र देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्ने भएकोले लगानीकर्ताहरुको विश्वास कायम राख्नका लागि निरन्तर रुपमा बोर्डले आवश्यक कार्य गर्ने नै छ । सदा झैं लगानीकर्ताबाट आप्mनो जोखिम वहन क्षमतालाई दृष्टिगत गरी वित्तीय परिसूचक मूल्याँकन गरी सुझबुझ पूर्वक लगानी सम्बन्धी निर्णय लिन बोर्ड सम्बन्धित सबैलाई आग्रह समेत गरेको छ ।