काठमाडौं, कात्तिक १९ । लामो समयको प्रतिक्षापछि भोलिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ। नेपाल दूरसञ्चार प्राधिकरणले भोलि (सोमबार)देखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो।
'भोलि देखि एमडिएमएस पूर्ण रूपमा लागू हुनेछ। प्रणालीमा दर्ता नभएका फोनहरू क्रमशः ब्लक हुनेछन्,' प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने।
उनका अनुसार एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन। ती फोनहरू ब्लक हुनेछन्।
प्राधिकरणले गत कात्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिन भित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न भनेको थियो। सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको थियो।
सोही अनुसार प्राधिकरणले भोलिदेखि एमडिएमएस लागू गर्न लागेको हो।
प्राधिकरणका अध्यक्ष खनालका अनुसार सुरूमा 'हाइ रेन्ज' का मोबाइल ह्यान्डसेटमा यो लागू हुनेछन्। यसमा १ लाख भन्दा महँगा फोनहरू पर्नेछन्। उनले भने, 'यसरी गर्दा भोलि मात्रै ८ सय देखि १ हजार ह्यान्डसेट ब्लक हुने देखिन्छ। विशेष हाइ रेन्जका मोबाइल जस्तै आइफोन, वान-प्लस, सामसङ कम्पनीका मोबाइल सेट पर्ने देखिन्छ।'
प्रणालीमा दर्ता नभएका ह्यान्डसेटहरू क्रमशः दैनिक रूपमा ब्लक गर्दै जाने उनले बताए।
प्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको हो। वैध रूपमा अर्थात् सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ। यस्ता फोन स्वतः एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छन्।
तपाईंको फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर हेर्न सकिन्छ। यसको लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर ८३०६३ डायल गरेर पत्ता लगाउन सकिन्छ।
अथवा तपाईंको ह्यानडसेट नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ।