काठमाडौं, साउन २५ । पशुपति आर्यघाटमा जलाउदै गरेको शवबाट मासु र हड्डी निकाली बिक्री गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
शुक्रबार काभ्रेको बनेपा ९ का राम शाहीको शव अत्येष्टिका क्रममा जलाउदै गरेको शवबाट मासु र हड्डी निकाली बेचेको आरोपमा शव जलाउने कार्यमा कार्यमा संलग्न गणेश ढकाल र उनका सहयोगी पक्राउ परेका हुन् । मृतकका परिवारहरुले नै आरोपीहरूलाई रंगेहात पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरीले शुक्रबार नै उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आर्यघाट छेउछाउ बस्ने अघोरी बाबालाई शवबाट मासु र हड्डी निकालेर बिक्री गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
ढकालले जलाइरहेको शवबाट मासु र हड्डी झिकेर बक्समा हाल्दै गरेको परिवारले देखेपछि के गरेको भनेर सोधपुछ गर्दा कोइला र खरानी हो भनेका थिए । पछि त्यहा दुईजना केटाहरुलाई बोलाएर ढकालले त्यो बक्स दिएर पठाए । परिवारले पछि खोजी गरेर सोधपुछ गर्दा ५०० मा बेचेको बताएका थिए । त्यसमध्ये सय रूपैयाँ सहयोगीलाई र चार सय रुपैयाँ ढकाल आफैँले राखेको बताएका थिए ।
प्रहरी वृत्त गौशालाले मृतकका आफन्तको उजुरीपछि आरोपितलाई पक्राउ गरेर सोधपुछ थालेको छ तर उनीहरुले अहिलेसम्म कसलाई र किन उक्त मासुको टुक्रा बेचेको भन्नेबारे नबताएको प्रहरीले जनाएको छ ।
मानिसको शवबाट मासु र हड्डी चोरी हुने घटना नै अनौठो र नयाँ हो । पक्राउ गरेका व्यक्तिलाई कुन कानुनअनुसार कारवाही र अनुसन्धान गर्ने भन्ने मै अन्यौलता रहेको प्रहरीले बताएको छ यद्यपि प्रहरीले उनीहरूलाई ‘अभद्र व्यवहार’ सम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।