
काठमाडौं, मंसिर ३ । आइसिटी अवार्ड २०२३ को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटी अवार्डका ३ विधामा विभिन्न ४ चरणको छनौट पश्चात पब्लिक भोटिङ सञ्चालन भएको हो । स्टार्टअप, प्रोडक्ट र राइजिङ स्टार इनोभेसन आइसिटी अवार्डमा उत्कृष्ट ५ को छनोटपछि हाम्रो पात्रो अन्तर्गतको हाम्रो पे एपमार्फत पब्लिक भोटिङ सुरु गरिएको आयोजकले जनाएको छ ।
प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसनबाट छनौट भएका उत्कृष्ट ५ ले क्याटेगोरी अवार्ड विजेताको लागि र उत्कृष्ट १३ मा पर्न सफल ३९ प्रतिस्पर्धीले पब्लिक च्वाइस आइसिटी अवार्डको लागि हाम्रो पे पब्लिक भोटिङ सञ्चालन गरिएको हो । क्याटेगोरी अवार्ड भोटिङको लागि एउटा आइडीले एकदिनमा एउटा विधामा एउटा मात्र भोट गर्न सकिनेछ भने पब्लिक च्वाइसमा इच्छा अनुसारको भोट गर्न सकिनेछ । सर्वोत्कृष्ट छनौटको लागि जुरी समितिको फिल्ड भिजिट पनि सञ्चालन हुनेछ ।
लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्ने प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रममा १३ विधामा नोमिनेसन खुल्ला गरिएको थियो । प्राप्त ६०० बढिको अनलाइन नोमिनेसनबाट सम्पूर्ण विधामा सर्वोत्कृष्ट छनौट १४ जना जुरी सदस्यहरूले विभिन्न चरणको छनौट प्रक्रियासञ्चालनमा रहेको छ । दक्षिण एसियाली देशका स्टार्टअपहरुलाई लक्षित गरेर साउथ स्टार्टअप अवार्ड पनि सञ्चालनमा छ । यसको लागि भारत, बंगलादेश, पाकिस्तान र श्रीलङ्काका विज्ञहरूलाई जुरी समितिमा समावेश गरिएको छ ।
उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरुमा भोजमाण्डु फुड प्रा.लि, दियो एआई टेक्नोलोजी प्रा.लि, जीजी कर्पोरेसन प्रा.लि, रासन टेक्नोलोजिज प्रा.लि र यार्सा टेक प्रा.लि रहेका छन् । यसैगरी प्रोडक्ट आइसिटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रोडक्टहरूमा डिजी बज, फास्ट बैंकिङ, मनि मित्र, क्युकआरपिए र यात्री पी १ रहेका छन् । राइजिङ स्टार इनोभेसन विधा अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इनोभेसनहरुमा ब्लाङ्सेर, ड्रेसन, दृष्य, इन्टर्नसाथी र प्रष्ट नेपाली रहेका छन् ।
यि उत्कृष्ट ५ सँगै अन्य १३ स्टार्टअप, प्रोडक्ट र इनोभेसनको बारेमा तयार पारिएको विशेष टेलिभिजन कार्यक्रम पनि प्रसारणको तयारीमा रहेको छ । ग्राण्ड फिनाले अघि कान्तिपुर टेलिभिजनबाट ५ वटा एपिसोडहरु प्रसारण हुनेछ ।
यसैगरी आइसिटी अवार्ड २०२३ अन्तर्गत अन्य व्यक्तिगत र संस्थागत अवार्ड विधाहरुमा पनि छनौट प्रक्रियाजारी रहेको छ। प्रोफेसनल एक्सिलेन्स, पायोनियर, इन्टरप्रिनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्डका विधाहरुमा तेस्रो चरणको छनौट प्रक्रियासञ्चालनमा छ । त्यसैगरी, डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा दोस्रो चरणको छनौट प्रक्रियासञ्चालन भइरहेको छ ।
आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ६ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । कार्यक्रम सहभागी हुन इच्छुकले मंसिर १५ गतेदेखि खुल्ला हुने टिकट खरिद गर्न सकिनेछ ।