Kath khabar
पुस महिनामा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि


                        काठमाडौं, माघ ३ । चालू आर्थिक वर्ष २०७९/८० को पुस महिनामा घरजग्गा कारोबारमा वृद्धि भएको छ । 

पुस महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब २० करोड ५२ लाख रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । जुन गत मंसिर महिनाको तुलनामा ६५ करोड रुपैयाले धेरै हो । पुस महिनामा भएको १ लाख ३६ हजार ७७३ वटा कारोबारबाट ३ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको हो ।

विगत २ वर्षदेखि मन्दी र घरजग्गा वर्गीकरणका कारण शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा आएर उल्लेख्य वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गासम्बन्धी विविध कार्य हुँदा सरकारलाई एकै महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुस महिनामा कुल ४५ हजार २ सय ७७ वटा लिखत पारित भएका छन् । यो गत मंसिर महिनाको भन्दा ८ प्रतिशतबढीले जग्गा खरिद–बिक्री हुनु हो ।

मंसिरमा घरजग्गा कारोबारबाट २ अर्ब ८६ करोड राजस्व संकलन भएको थियो । मंसिरको तुलनामा पुसमा राजस्व संकलन पनि ३५ करोड रुपैयाँले बढेको छ । चालू आर्थिक वर्षमा घरजग्गा किनबेचबाट साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब, असोजमा ४ अर्ब र कात्तिकमा २ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको तथ्यांक विभागको रहेको छ ।

विभागका अनुसार पुस महिनामा मुलुकभरका मालपोत कार्यालयबाट ४५ हजार २ सय ७७ वटा लिखत पारित भएका छन् । गत मंसिरमा साढे ४२ हजार लिखत पारित भएका थिए । सरकारले स्थानीय तहमार्फत घरजग्गाको वर्गीकरण गरी कित्ताकाट खुकुलो पारेपछि कित्ताकाटको संख्या पनि बढेको छ । यही अवधिमा बैंकहरूमा लगानीयोग्य रकम बढ्न थालेको तथा बैंकहरूको ब्याजदर पनि निरन्तर रूपमा घट्न थालेकाले घरजग्गाको कारोबार बढेको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जाको सीमा बढाउँदै साउनबाट कित्ताकाट खुलाए पनि कारोबार भने बढ्न सकेको थिएन । तर, अहिले बजारमा आर्थिक मन्दी बिस्तारै हट्न थालेकाले र बैंकहरूमा पनि तरलता बढेका कारण जग्गाको कारोबार बढेको आँकलन गरिएको छ ।

विभागका अनुसार पुसमा भएको घरजग्गा कारोबार २ वर्षयताकै अधिक हो । यसअघि मंसिरमा सर्वाधिक धेरै ४१ हजार ८ सय ५१ वटा घरजग्गा किनबेच भएका थिए । दुई वर्षअघिसम्म एकै महिनामा ७० हजार हाराहारीमा घरजग्गा किनबेच हुने गरेको थियो । २०७८ पुसमा मुलुकभरि ७० हजार १ सय ६८ वटा घरजग्गासम्बन्धी कारोबार भएका थिए ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुसमा सबैभन्दा धेरै घरजग्गा किनबेच इनरुवा मालपोत कार्यालयबाट भएको थियो । सुनसरीको इनरुवा मालपोत कार्यालयले १ हजार ९ सय ३७ वटा घरजग्गा किनबेचको लिखत पारित गरेको छ । सो मालपोत कार्यालयमा एक महिनामा ४ हजार ९ सय ८९ वटा घरजग्गासम्बन्धी विविध कार्य सम्पन्न भएको थियो ।

यसैगरी, झापाको भद्रपुरमा १ हजार ७ सय ४३, मोरङको बेलबारीमा १ हजार ६ सय ५०, धनुषाको जनकपुरधाममा १ हजार ५ सय २०, सप्तरीको राजविराजमा १ हजार २ सय ६० वटा घरजग्गाका लिखत पास भएको तथ्यांक विभागको छ ।

पुस महिनामा बलरा सर्लाही, मनमैजु काठमाडौं, दार्चुला, कपिलवस्तु, रुपन्देही मालपोत कार्यालयमा भने एउटा पनि लिखत पास नभएको तथ्यांक रहेको छ । मनाङमा नौवटा लिखत पारित हुँदा मुस्ताङमा १० र डोल्पामा १३ वटा लिखत पास भएका छन् । एकै महिनामा हजारभन्दा बढी लिखत पास भएका मालपोत कार्यालयहरूमा जलेश्वर, मलंगवा, तौलिहवा र धनगढी रहेका छन् ।

पुसमा काठमाडौं उपत्यकाभरिका नौवटा मालपोत कार्यालयबाट २ हजार ६ सय ५५ वटा घरजग्गाको लिखत पारित भएको तथ्यांक छ । काठमाडौंमा १ हजार ७६३ वटा लिखित पारित र १५१ वाट नामसारी भएको छ । ललितपुरमा १५ वटा लिखित पारित र ८५ वटा नामसारी कारोबार भएको छ । यहाँ रजिष्ट्रेसन दस्तुरबापत १६ करोड ६१ लाख रूपैयाँ उठेको छ। भक्तपुर मालपोत कार्यालयबाट ८ सय ७७ वटा लिखत पारित भएका छन् ।

सरकारले भू–उपयोग नियमावली संशोधन गरेर कित्ताकाट खुकुलो गरेसँगै घरजग्गाको कारोबारमा सुधार आएको हो । घरजग्ग्गा कारोबार बढाउन सरकारले गत वैशाखमा जग्गाको कित्ताकाट खोलेको थियो भने राष्ट्र बैंकले गत मंसिरमा घरजग्गा कर्जाको जोखिम भार घटाएको थियो ।

घरजग्गा कारोबार बढेसँगै सरकारलाई राजस्वमा राहत भएको छ । सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकरलगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।

पुसमा सरकारले सेवाकरबापत २६ करोड २० लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, रजिस्ट्रेसन दस्तुरबापत २ अर्ब १२ करोड १२ लाख ४९ हजार रुपैयाँ कर उठाएको छ । मुलुकभरका मालपोत कार्यालयहरूले पुसमा पुँजीगत लाभकरबापत १ अर्ब १० करोड ९ लाख ४० हजार रुपैयाँ र अन्य विभिन्न सेवाबापत २७ करोड ९० लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेका छन् । (राजधानी दैनिक)

 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update