Kath khabar
वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ सैँ घण्टा खुल्ने

                   काठमाडौं, चैत २९ । काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ घण्टा खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्नुहुनेछ ।

सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौं)ले लिनेछ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्गको रात्रिकालीन व्यवसाय वैशाख १ गतेदेखि लागू हुने गरी सुरक्षा तयारी गरिएको बताउनुभयो । उहाँले पूर्णकालीन व्यवसाय सञ्चालनका लागि आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड बनाइएको जानकारी दिनुभयो । चैत ३० गते जिल्ला सुरक्षा समितिको बैठकले उक्त मापदण्ड पारित गरेपछि लागू हुनेछ ।

ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार
ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले बताउनुभएको छ ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले आज यहाँ आयोजना गरेको ‘लागूऔषध दुर्व्यसनी तथा साइबर अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया’मा उहाँले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताउनुभएको हो ।

“ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी उक्त बजारलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्नेछ”, उहाँले भन्नुभयो । परिसर प्रमुख खत्रीले पछिल्लो समय राजधानी काठमाडौंसहित देशभर लागूऔषध दुव्यर्सनी र साइबर अपराधको घटना बढेको भन्दै यसलाई नियन्त्रणका लागि काठमाडौं प्रहरीले काम गरिरहेको उल्लेख गर्नुभयो ।

चालू आर्थिक वर्षमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने तीन हजार सात सय मुद्दा दर्ता काठमाडौं प्रहरीमा दर्ता भएको उहाँको भनाइ छ । यस्तै, लागूऔषध दुव्यर्सनीसम्बन्धी देशभर चार हजारभन्दा बढी मुद्दा दर्ता भएको एसएसपी खत्रीले बताउनुभयो । काठमाडौं महानगरपालिका वडा नं ४ का वडाअध्यक्ष दिनेश महर्जनले विस २०८१ सालमा वडाभित्रका बिग्रेका सबै सडकहरु कालोपत्र गरिसक्ने बताउनुभयो । उहाँले लागूऔषध दुव्र्यसन र साइबर अपराधमा सजग रहन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवीलगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताउनुभयो । उहाँले समाजमा हुने लागूऔषध दुर्व्यसनी, साइबर अपराधलगायतको नियन्त्रणमा सामुदायिक सेवा केन्द्रले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको उल्लेख गर्नुभयो ।

प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) अम्बरबहादुर थापा क्षेत्रीले पछिल्लो समय युवा पुस्ता लागूऔषध दुर्व्यसनी र साइबर अपराधमा फसेको भन्दै यसलाई न्यूनीकरणका लागि प्रहरीले समाजसँगको  सहकार्यमा विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

नेपाल सरकारका पूर्वसचिव श्यामप्रसाद मैनाली, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अमरसिंह शाह, न्यूटन उच्च माविका प्राचार्य रामबहादुर थापालगायतले भोलिका दिनमा देश विकासको जिम्मा अहिलेका विद्यार्थीको भएकाले लागूऔषध दुर्व्यसनी र साइबर अपराधसँग टाढा रहन आग्रह गर्नुभएको थियो ।
 

 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update