Kath Khabar
सुप्राग्लेसियल ताल विस्फोट भएर रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष

                        काठमाडौं, असार २६ । रसुवा जिल्लास्थित नेपाल-चीन सिमानामा बग्ने लेन्दे खोलामा असार २४ गते बिहान आएको बाढीको सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले बाढी जानुको कारणको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । 

 ‘सेन्टिनेल’ उपग्रहका तस्वीरहरूको विश्लेषणमा आधारित अध्ययन अनुसार हिमताल ताल फुट्दा बाढी आएको निष्कर्ष विभागले निकालेको छ । हिमनदी माथि बनेको ताल (सुप्राग्लेसियल लेक) फुटेर बाढी आएको विज्ञहरुले बताएका छन् । तस्विरहरूमा आधारित विभागको प्रारम्भिक निष्कर्ष अनुसार, समुद्र सतहबाट लगभग ५,१५० मिटर उचाइमा रसुवागढी (अक्षांश: २८.४०४३, देशान्तर: ८५.६४६९) बाट लगभग ३६ किलोमिटर उत्तरमा रहेको लेन्दे खोलाको माथिल्लो जलग्रहण क्षेत्रमा अवस्थित सुप्राग्लेसियल ताल फुटेपछि बाढी आएको हो । सुप्राग्लेसियल तालहरू गतिशील र अस्थायी प्रकृतिका हुन्छन् ।

लगभग ०.७५ वर्ग किलोमिटरमा फैलिएको सुप्राग्लेसियल ताल घटनापछि लगभग ०.६० वर्ग किलोमिटरमा संकुचित भएको देखिन्छ, बाढीपूर्व र बाढीपछिको उपग्रह तस्विरहरू बीचको महत्त्वपूर्ण भिन्नताले तालबाट पानी निकालिएको र तल्लो तटीय क्षेत्रहरूलाई असर गरेको स्पष्ट रूपमा देखाउँछ । सो क्षेत्रमा भारी वर्षा नभएको पुष्टि भए पनि ताल विस्फोटपछि बाढीका स्पष्ट तहगत संकेतहरू तस्विरमा देखिएको छ ।

यस सम्बन्धमा चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने जनाइएको छ साथै आगामी दिनमा भू-उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्विरहरुले समेत थप पुष्ट्याइँ दिन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले निरन्तर अध्ययन जारी राख्ने र आधिकारिक जानकारी अपडेट गर्दै जाने बताएको छ ।

 


518393649_122183387282355476_1512250631256192841_n-(2)-1752131480.jpg

518181274_122183387360355476_8488477838243329132_n-(1)-1752131480.jpg

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update